सुदूरपश्चिममा आज थप १३२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज थप १३२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा विहिबार थप १३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएका ३५४ नमुनाहरुमध्ये १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६९ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४७ जना र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ गरी १३२ जनामा कोरोना देखिएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १७२ नमुनाहरुमध्ये ६९ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ५६ सहित ६९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनले धनगढी उपमहानगरपालिकाका ३२ जना, लम्कीचुहाँ नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ९ जना, घोडाघोडी नगरपालिकाका दुईजना, कैलालीकै स्थानीय तह नखुलेका एकजना, डोटीको दिपायल सिलगढी नगरपालिकाका एकजना र डडेल्धुराको परशुराम नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका एकजना, बेदकोट नगरपालिकाका पाँचजना, लालझाडी गाउँपालिकाका दुईजना र कष्णपुर नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १४० नमुनाहरुमध्ये ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी र दार्चुलाका थप ४७ जनामा कोरोना देखिएको बताए । उनले दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना र डोटीको जोरायल गाउँपालिकाका ९ जना गरी ४७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।

परिक्षण गरिएका अन्य ९३ जनाको नतिजा नेगेटिभ आएको छ । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४२ नमुनाहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटीका ५ महिला र १२ जना पुरुष गरी १७ जनामा कोरोना देखिएको बताए ।

उनले जिल्लाको दिपायल सिलगढी नगरपालिकाका तीन महिला र ९ जना पुरुष र बोगटान पुड्सिल गाउँपालिकाका तीन पुरुष र दुई महिला गरी १७ जनामा कोराृेना पोजेटिभ देखिएको बताए । परिक्षण गरिएका अन्य २५ जनाको नतिजा नेगेटिभ आएको हो ।