मेक्सिकोका पूर्वरक्षामन्त्री लागूऔषध काण्डमा पक्राउ

मेक्सिकोका पूर्वरक्षामन्त्री लागूऔषध काण्डमा पक्राउ

मेक्सिको सिटी । मेक्सिकोका एकजना पूर्वरक्षामन्त्री आफ्नो कार्यकालमै अवैध लागूऔषध ओसारपसार र मुद्रा अपचलन गरेको अभियोगमा गिरफ्तारीमा परेका छन्। जेन साल्भाडोर सिएनफुएगोस जेपेदालाई बिहीबार अमेरिकाको लसएन्जल्स विमानस्थलमा प्रहरीले पक्राउ गरेको अमेरिकी वकिलले बताएका छन्। उनलाई शुक्रबार नै क्यालिफोर्नियामा चारवटा अभियोगसहित उपस्थित गराइएको थियो।
उनीविरुद्ध अमेरिकामा हेरोइन, कोकिन, मिथाम्फेटामाइनर गाँजा बिक्री वितरणका लागि षड्यन्त्र गरेको अभियोग पनि लगाइएको छ । ‘दि गड फाडर’ को उपनामले पनि चिनिने तथा अवकाश प्राप्त सैनिक जनरल सिएनफुएगोसले अमेरिका लागूऔषध तस्कर गर्ने अत्यन्तै हिंसात्मक मेक्सिको लागूऔषध ओसारपसार समूह एच–२ कार्टेललाई सहयोग गर्दै आएको बताइएको छ।
उनले एच–२ कार्टेलबाट घूस लिएर त्यसलाई मेक्सिकोमा खुलमखुला एकछत्र अपराध गर्न छुट दिएको अभियोग लगाइएको छ। वकिलले उनी र एच–२ कार्टेलका वरिष्ठ नाइकेबीच भएको संवादको प्रमाण आफूसँग रहेको दाबी गरेका छन्।
तिनीहरू भाग्न सक्ने ठूलो खतरा रहेकाले मुद्दा नसकुञ्जेल उनलाई प्रहरी हिरासतमा राख्नका लागि अदालतसँग अनुरोध गरिएको छ। यदि, अभियोग प्रमाणित भएको खण्डमा उनलाई दश वर्ष वा सोभन्दा लामो कारावास सजाय हुन सक्छ।
यसअघि नै मेक्सिको सरकारले उनलाई अमेरिकी लागूऔषध नियन्त्रण तथा रोकथाम निकायले पक्राउ गरेको पुष्टि गरिसकेको छ।
यसै वर्षको शुरूमा मेक्सिकोका पूर्वराष्ट्रपतिका निकटतम सल्लाहकारमध्ये एकजनालाई भ्रष्टाचारको अरोपमा पक्राउ गरी स्ेपनले मेक्सिकोसमक्ष सुपुर्दगी गरेको थियो। मेक्सिको सरकारी तेल उत्पादन कम्पनी पेमेकस्का पूर्वअध्यक्ष एमिलियो लोजोयालाई एउटा बैजिलियन निर्माण कम्पनीबाट १ करोड अमेरिकी डलर घूस लिएको अभियोग लगाइएको थियो।