चेन्नई सुपर किंग्सविरुद्ध शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सको जितका लागि अनुभवी ओपनर ब्याट्सम्यान शिखर धवनले महत्त्वपूर्ण भूमिका खेले । उनले ५८ बल खेल्दै १०१ रनको अविजित पारी खेल्दै दिल्लीलाई हारबाट जोगाए ।
धवनले दिल्लीलाई जित मात्र दिलाएनन् । उनले आफ्नो आईपीएल करियरको पहिलो शतकसमेत जोडे । धवनले आईपीएलको १३ वर्षे इतिहासमा पहिलोपटक शतक लगाउँदै निकै नै सानदार महसुस भएको बताएका थिए ।
“यो मेरा लागि एक दम खुसीको क्षण हो । म १३ वर्षदेखि आईपीएल खेल्दै आएको छु । तर, मैले पहिलो शतकीय पारी खेले । धेरै खुसी छु,” धवनले भने, “सिजनको सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेको महसुस भइरहेको छ । तर, २० रनको स्कोरलाई ५० रनमा बदल्न सकिरहेको थिएनन् ।”
उनले थपे, “म मानसिक रुपमा सकारात्मक छु र रन बनाउने कोसिस गरिरहेको थिएँ । म अहिले पहिलाभन्दा बढी फिट छु ।” यसअघि २०११ मा धवान किंग्स इलेभेन पन्जाबविरुद्ध ९५ रनमा अविजित रहेका थिए । उनले ५७ बल खेल्दै १४ चौका र एक छक्कासहित ९५ रन जोडेका थिए । तर, उनी शतक बनाउनबाट चुकेका थिए । २०१६ मा ८२ रनमा अविजित रहँदा २०१८ मा भने उनी ९२ रनमा अविजित थिए ।
२०१८ मा सनराइजर्स हैदरावादबाट खेलेका उनले तत्कालीन दिल्ली डेयरडेभिल्सविरुद्ध ९२ रनको अविजित पारी खेलेका थिए । उनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।
त्यस्तै २०१९ मा उनले दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राइडर्सविरुद्ध ९७ रनको अविजित पारी खेलका थिए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९७ रनको अविजित पारी खेले पनि शतक भने जोड्न सकेका थिएनन् ।