धनगढीमा भएको ग्यास  विस्फोटमा परी गम्भीर घाइते भएका पुरुषको पनि निधन

धनगढीमा भएको ग्यास  विस्फोटमा परी गम्भीर घाइते भएका पुरुषको पनि निधन

धनगढीः धनगढीमा लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएका पुरुषको पनि मृत्यु भएको छ। गत बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

काठमाडौंमा उपचारकै क्रममा ७० वर्षीय पुरुष हरीलाल विष्टको समेत मृत्यु भएको उनका छिमेकी राजेश गीरीले जानकारी दिए। उनी संयुक्त नेपाली महासंघ मुम्बईका सल्लाहाकार शिव बिष्टका वुवा हुन्। विस्फोटमा परी घाईते भएकी उनकी आमा ६५ वर्षीया बिर्मादेवी विष्टको भने गत विहिबार नै मृत्यु भएको थियो।

गत बुधबार बिहान हरीलालले बजारबाट सिलिण्डर ल्याएर रेगुलेटर लगाउने क्रममा ग्यास लिक भएको थियो। सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको थियो।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासी विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्ता समेत भत्काएको प्रहरीले जनाएको छ।