सेती अस्पतालले कोरोना परिक्षण र संक्रमित विरामीको उपचार निःशुल्क गर्ने

सेती अस्पतालले कोरोना परिक्षण र संक्रमित विरामीको उपचार निःशुल्क गर्ने

धनगढी । सेती प्रादेशिक अस्पतालले कोरोना परिक्षण र संक्रमित विरामीको उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले कोरोना परिक्षण र संक्रमित विरामीको उपचार गर्दा शुल्क लिन निर्देशन दिएपनि सेती अस्पतालले भने शुल्क नलिने जनाएको छ ।

अस्पतालका अध्यक्ष दुर्गादत्त जोशीले सेती प्रादेशिक अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले शुल्क लिने भन्ने कुनै निणर्य नभएको जानकारी दिए । संघिय सरकारले शुल्क लिनु भने पनि यो अस्पताल प्रदेश अन्तर्गत रहेको उनले स्पष्ट पारे । संघिय सरकार अन्तर्गत सेती प्रादेशिक अस्पताल नरहेको बताउदैं अध्यक्ष जाशीले सुदूरपश्चिम सरकारले निर्णय नगर्दा सम्म शुल्क नलिने बताए ।

यसअघि स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले आर्थिक रुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाई कर्मचारी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नुपर्ने निर्देशन जारी गरेको थियो ।