डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

डोटीमा किसान भटमास दिँदै ढिके नुन लिँदै

डोटी: चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् ।

किसानले प्रतिकिलो भटमाससँग तीन किलो र बेथेसँग साढे दुई किलो नुन साट्ने गरेका छन् । आदर्श गाउँपालिका मौवाका स्थानीयबासी तिलक ओझाले भने, “यो वर्ष गाउँमा भटमास र बेथेको राम्रो उत्पादन भएको छ । बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ छ ।” किसानले आफूले उत्पादन गरेका भटमास तथा बेथे बिक्रीका लागि जिल्लाका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा लाने गरेका छन् ।

किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको दिपायल पिपल्लास्थित घटाल ट्रेडर्स एण्ड सप्लायर्सका व्यापारी वीक्रमबहादुर साउँदले बताए । उनले भने, “ग्राहकहरु नगद भन्दा पनि नुनसँग सामान साट्न खुशी हुने भएकाले हामी बस्तु साटासाट गरिरहेका छौँ । हामीलाई पनि राम्रै भएको छ ।”

जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउँछन् । भटमास उत्पादन गर्ने किसान दैनिकजसो किलोका किलो भटमास लिएर ढिके नुनसँग साट्न आउँने तथा यहाँबाट कट्टाका कट्टा ढिके नुन लगेर फर्किने गरेको देख्न पाइन्छ । भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि डोटीका बजारमा अहिले भटमास सङ्लकहरुले ठाउँ–ठाउँमा ढिके नुनसहितका तराजु राखेर बस्ने गरेको दिपायलका स्थानीयवासी बहादुर कोलीले जानकारी दिए ।

डोटीका किसानले वर्षायाममा प्राय सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी भटमास उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ, कार्यालयको तथ्याङ्कले जनाएको छ । डोटीका ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुन गरेको स्थानीयबासीहरु बताउछन् ।

गाइ, भैसीसहित अन्य बस्तुभाउलाई कुडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानहरु बढीजसो ढिके नुन नै खरिद गर्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जहरसिंह खवासले बताए । जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन आफूहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपनि अझै व्यापक प्रयोग नभएको बताए ।