कोरोना संक्रमितको नि:शुल्क उपचारको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आन्दोलन गर्ने

कोरोना संक्रमितको नि:शुल्क उपचारको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आन्दोलन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ संक्रमितको निशुल्क उपचारको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकार संक्रमितको उपचारबाट पन्छिएर अमानवीय क्रियाकलापमा लागेको भन्दै नेकपाले आन्दोलन गर्ने निर्णय गरेको हो।

'कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुऱ्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो, ' विज्ञप्तिमा भनिएको छ।

सबै संक्रमितको निशुल्क उपचार गर्न नेकपाको माग छ। कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा काम गर्नेलाई प्रत्साहन गर्नुको साटो प्रताडित हुनु परेको नेकपाले बताएको छ।

नेकपाले अग्रमोर्चामा खटिएर काम गर्नेहरुलाई आर्थिक सुविधा दिनुपर्ने मागसमेत गरेको छ। 'सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।

सरकारले स्वास्थ्य सङ्कटलाई भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग गरिरहेको उसको आरोप छ।कात्तिक १५ मा कोणसभा  १७ मा पर्चा वितरण र  २० गते विरोध जुलुस गर्ने नेकपाको कार्यक्रम छ। सरकारले संक्रमित मध्य उपचार खर्च  आफै तिर्न नसक्नेको मात्रै राज्यले उपचार गर्ने निर्णय गरेको थियो। यो निर्णयको चौतर्फि विरोध भइरहेको छ।