महाकाली अस्पतालमा पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

महाकाली अस्पतालमा पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम जम्मा गरी पिसीआर मेसिन जडान गर्नका लागि सहयोग गर्ने भएका हुन् ।

सङ्घीय सांसदले रु २० लाखका दरले, सुदूरपश्चिम प्रदेशसभा सदस्यले रु १० लाखका दरले, नगरपालिकाले रु १५ लाखका दरले र गाउँपालिकाले रु १० लाखका दरले रकम सहयोग गर्ने प्रतिबद्धता गरेको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।

अस्पतालमा प्रयोगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाले पिसीआर मेसिन खरिद गरी तीन महिनाअघि नै उक्त अस्पताललाई हस्तान्तरण गरेको हो । नगरपालिकाले ३८ लाखमा मेसिन खरिद गरेको हो । जडान खर्चको अभाव हुँदा मेसिन सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा प्रयोगशाला निर्माणसहितका जनशक्ति व्यवस्थापन कार्य अगाडि बढेका छन् । भीमदत्त नगरपालिकाले जिल्ला समन्वय समिति, महाकाली अस्पतालबीच जिम्मेवारी बाँडफाँडसहितको सहमति भएर पिसीआर मेसिन सञ्चालनको कार्य अगाडि बढाइएको हो ।

जिल्ला समन्वय समितिको बैठकले पिसीआर मेसिन सञ्चालनका लागि चाहिने थप उपकरण खरिद गर्ने निर्णयसमेत गरेको छ । तीनवटै तहका जनप्रतिनिधिले गरेको प्रतिबद्धताअनुसार मेसिन सञ्चालनका लागि एक करोड २५ लाख रकम कोषमा सङ्कलन हुन लागेको छ । सङ्घ र प्रदेशका सांसदले पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट सहयोग गर्न लागेका हुन् ।

दशैँ खर्चको रकम कोरोना नियन्त्रण खातामा जम्मा

दशैँ खर्चवापत पाएको रकम सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले मङ्लवार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम खातामा जम्मा गर्नुभएको छ ।

सुदूरपश्चिम सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा मन्त्री बोहराले ६३ हजार रकम जम्मा गर्नुभएको हो । कोरोना रोकथामका लागि सहयोग पुर्याउनका लागि मन्त्री बोहराले रकम खातामा जम्मा गर्नुभएको स्वकीय सचिव केशवराज अवस्थीले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले समेत दशैँ खर्चवापत पाएको ६३ हजार रकम कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराएका छन्।

यसैगरी जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य बलराम पन्तले दशैँ खर्चवापत पाएको १४ हजार ८५० रकम महाकाली अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको पिसीआर ल्याबका लागि उपलब्ध गराएका छन् । दशैँ खर्चवापतको रकम उनले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका छन् ।