धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुबै परिवारलाई २÷२ लाख दिने निर्णय गरिएको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।
तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।
दुबैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले भेटेर राहतको लागि आश्वासन दिएका थिए । मन्त्री वोहराकै पहलमा प्रदेश सरकारले दुबै परिवारलाई २/२ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।