प्रधानमन्त्रीले रअ प्रमुख भेट्नु नेकपाको नीति र कुटनीतिक मर्यादा विपरित : भीम रावल

प्रधानमन्त्रीले रअ प्रमुख भेट्नु नेकपाको नीति र कुटनीतिक मर्यादा विपरित : भीम रावल

नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व रक्षामन्त्री भीम रावलले भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ता कुटनीतिक मर्यादा विपरित र आपत्ति पूर्ण भएको बताएका छन् । रअ प्रमुख सामन्त गोयलले बुधवार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता भएको बालुवाटारले पुष्टि गरिसकेको छ ।

नेकपा सांसद रावलले बिहीवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले गोयललाई भेट्नु रावलले सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भएको बताएका हुन् । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ ।

कूटनीतिक मर्यादा विपरीत छ’ रावलले भनेका छन् । बुधवार नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल बिहीवार स्वदेश फर्किएका छन् । भारतीय सेनाको विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुखले काठमाडौंमा अन्य राजनीतिक भेटवार्ता पनि गरेका थिए ।