कञ्चनपुरको विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने

कञ्चनपुरको विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ । 

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा केन्द्र बनाउन लागेको हो । केन्द्र निर्माणका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । विष्णु मन्दिर आउने दर्शनार्थी, भक्तजन र स्थानीयवासीका लागि केन्द्र बनाउन लागिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले बहूपयोग हुने गरी केन्द्र बनाउन लागिएको जानकारी दिए ।

विष्णु मन्दिर साकेत धाम धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । यहाँ आउने भक्तजन र स्थानीयवासीलाई ध्यान र  योग गर्न सहयोग पुगोस् भनेर बनाउन लागिएको केन्द्रको काम अब केही दिनमा सुरु गरिने छ । नगरपालिकाले विष्णु मन्दिर साकेतधाम क्षेत्रको गुरुयोजना बनाएर धार्मिक पर्यटकीयस्थलका रुपमा  विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख विष्टले बताए । 

रौटेलादेखि ब्रह्मदेवसम्म जैविक– धार्मिक –पर्यटकीय मार्ग निर्माण गरी सबै धार्मिक पर्यटकीयस्थललाई जोडिएको र  पूर्णागिरि माताका दर्शनार्थीलाई पनि विष्णु मन्दिरधाम पु¥याइने उनको भनाइ छ । विष्णु मन्दिर धाम क्षेत्रमा धर्मशाला निर्माण, पोखरी मर्मतसम्भार, परिक्रमा पथ सुधारलगायतलाई प्राथमिकता दिइएको जनाइएको छ ।  

विष्णु मन्दिर धाम क्षेत्रमा दृश्यावलोकन स्तभ्म बनाउन सम्भाव्यता अध्ययनसमेत गरिएको थाहा भएको छ । रासस