भारतीय पैसा सटहीमा दलाल सक्रिय, बराबरी मूल्यमा नेपाली दिँदै भारु लिँदै

भारतीय पैसा सटहीमा दलाल सक्रिय, बराबरी मूल्यमा नेपाली दिँदै भारु लिँदै

बझाङ : बझाङ जिल्लामा बराबरी मूल्य बनाएर दलालहरुले नेपाली रुपैयाँ दिँदै भारु लिँदै गरेका छन् । व्यापारी तथा दालालहरुले स्थानीयवासीहरुसँग भारु र नेपालीको मूल्य बराबरी बनाएर नेपाली रुपैयाँसँग भारु साटिरहेका छन् ।

नेपाल सरकारले भारतीय नोटमा प्रतिबन्द लगाएपछि स्थानीयवासीसँग रहेको भारु साट्न व्यापारी तथा दालालहरुले भारु बराबर मूल्यकै नेपाली रुपैयाँ दिने गरेको स्थानीयवासीहरु बताउँछन् । केदारस्युँ गाउँपालिकाकी सीता बिष्टले आफूसँग रहेका २ हजारका भारु पाँच नोट नेपाली दशहजारमा साटेको बताउनुभयो ।

श्रीमानले दसैँताका घरखर्चको लागि आफन्तलाई पठाएको भारु पैसा त्यही मूल्य बराबर नेपाली रुपैयाँमा स्थानीय बजार बागथलामा साँटेको उहाँले बताउनुभयो । 

नेपाल सरकारले भारतीय दुई सय, पाँच सय,  दुई हजार दरका नोट साट्न प्रतिबन्ध लगाएपछि बझाङका धेरै मानिसहरुको दैनिकी प्रभावित बनेको छ । घरका पुरुषहरु भारतमा रहेको र उनीहरुले पठाएको रकम साट्न नपाउँदा धेरै ग्रामिण महिलाहरुले घरखर्च जुटाउन समेत सकेका छैनन् ।

यही समस्यालाई मौका छोपेर महिलालाई ठग्नका लागि दलालहरु सक्रिय बनेका छन । कतिपयले महिलले बराबरी मूल्यमा भारुसँग नेपाली रुपैयाँ साटेर गर्जो टारेको बताएका छन । छोराले दसैँमा घरखर्चको लागि आफन्तलाई पठाएको १० हजार भारतीय रुपैयाँ साट्न नपाउँदा दैनिक घरव्यवहार चलाउन समस्या भएको दुर्गाथली गाउँपालिकाकी रामकला धामीले बताउनुभयो ।

धामीलाई भारु पैसा नसाटिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ  । ‘घरमा दैनिक उपभोग्य बस्तुहरु सकिन लागेको छ । केटाकेटीको न्यानो लुगा किन्नु बाँकी छ । जता गए पनि यो पैसा चल्दैनन भन्छन’, धामीले भन्नुभयो, ‘यी पैसा के गर्ने रु, बाल्ने कि फाल्ने १ निकै चिन्ता लाग्न थालेको छ ।’ 

आफन्तले भारतबाट पठाएको ठूला दरका नोट नसाटिँदा जिल्लाका अधिकांश भेगका ग्रामिण महिलाहरु तनावमा छन । धेरैलाई दैनिक घरब्यवहार चलाउन पनि समस्या भएको छ । छोटो तथा लामो अवधिको रोजगारीका लागि बझाङका ४०–४५ हजारभन्दा बढी युवाहरु छिमेकी देश भारतका विभिन्न शहरहरुमा रोजगारी गर्दै आएका छन ।

पुरुषहरु भारतमा कमाउन जाने हुनाले बझाङमा धेरै भारु पैसा आउने गर्छ । पुरुषहरु रोजगारीका लागि भारतमा हुने भएकाले अधिकांश घरब्यवहार महिलाहरुले नै चलाइरहेका छन । दलालहरुले महिलाहरुलाई यही मौकामा ठगीरहेका छन् ।

भारतबाट श्रीमानले पठाएको हजार दरका आठ हजार भारु चलेको दरमा कसैले नसाटिदिएपछि सदरमुकामका एक व्यापारीबाट आठ हजार नेपाली लिएर आठ हजार भारु दिएको थलारा गाउँपालिका मनिकला सुनारले बताउनुभयो । 

‘नोट साट्न धेरै ठाउँ धाएँ । कसैले अब यी नोट नै चल्दैन भने कसैले ५–६ हजार दिन्छौं भने’, मनिकला सुनारले भन्नुभयो, ‘एउटाले बराबरीमा साटिदिन्छु भन्यो । दिन–दिनै सदरमुकाम धाउनुभन्दा बराबरीमै साट्नु ठिक ठानेर साटे ।’

यस्तै भारतबाट श्रीमानले पठाएको ३० हजार भारु साट्न सदरमुकाम आएकी गडरायकी धौली खड्काले पनि दिनभर भारु साट्न भौतारिँदा पनि कसैले चल्तीको दरमा भारु नसाटिदिएको गुनासो गर्नुभयो । उहाँले भारु नसाटिँदा धेरै महिलाहरु तनावमा रहेको बताउनुभउयो ।