नागरिकको सुरक्षा नै प्रहरीको दसैंः छैन बिदा, कार्यालय प्रमुखबाटै टीका

नागरिकको सुरक्षा नै प्रहरीको दसैंः छैन बिदा, कार्यालय प्रमुखबाटै टीका

काठमाडौं  । फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायको एउटा गीत नै काफी छ: ‘फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार।’

दसैं तिहारमा अरु छुट्टी लिएर चाड मनाउन घर फर्कन्छन्। प्रहरी भने बिदा रोकेर सुरक्षा योजना बनाउन व्यस्त हुन्छ।

अघिल्ला वर्षहरुभन्दा यो वर्ष भने दसैं केही भिन्न भएको छ। कोरोना माहामारीका कारण पहिलाको जस्तो उल्लास छैन। कोराना नियन्त्रणको फ्रन्टलाइनमा खटिनुपर्ने र दसैंलगायत चाडमा अपराध समेत बढ्ने भएकाले यो वर्ष सुरक्षाका हिसाबले झनै चुनौतीपूर्ण भएको प्रहरीले निष्कर्ष निकालेर सुरक्षा योजना बनाएको छ।

जसकारण झन्डै तीन करोड नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गाएको यो गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायत भन्छन्, ‘अघिल्लो वर्षभन्दा बढी सुरक्षाकर्मी यो वर्ष खट्नुपर्ने अवस्था छ। हामीलाई यो वर्ष दोहोरो चुनौती छ, कोरोना र सुरक्षा–अपराध। चाडकै मौकामा चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँड रक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

नागरिकको सुरक्षाकै लागि भनेर ७७ वटै जिल्ला प्रहरी कार्यालयले दसैं लक्षित सुरक्षा योजना पनि बनाउँदै आएको छन्। प्रवक्ता कडायतका अनुसार यो दसैं तिहार सुरक्षामा ४८ हजार ८ सय ३० प्रहरी जनशक्ति परिचालन गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ७ हजार ५ सय ५० प्रहरी परिचालन गरिएको छ। ट्राफिक प्रहरीसहितको टोलीले ५४ स्थानमा चेक प्वाइन्ट खडा गरेर चेकिङ सुरु गरिसकेको हेडक्वार्टरले जनाएको छ।

त्यस्तै काठमाडौं उपत्यकाकै २९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुहरुलाई हुने हरेक समस्या समाधान गर्न हेडक्वार्टरले निर्देशन दिएको छ।

बिदा दिन सक्ने अवस्था छैन
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले यस पटकको दसैंमा बिदा दिन सक्ने अवस्था नरहेको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा फ्रन्टलाइनमा खटिएको प्रहरी अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएको छ। कतिपय अझै संक्रमित नै छन् भने कतिपयले कोरोना जितेर पुनः मैदानमा फर्किएका छन्।
कार्यालय प्रमुखबाट टिका, ब्यारेकमै बडाभोज
ब्यारेकै दसैं मनाउने प्रहरीको पनि आफ्नै प्रचलन छ। जसमा घटस्थापनाको दिने देशभरीकै जिल्ला प्रहरी कार्यायल र सोभन्दा माथिल्लो प्रहरी कार्यालयमा जमरा राखिन्छ। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ। नेपाल लाईभबाट