हराएका सीमा स्तम्भ पुनः राख्ने सहमति, ३८० नयाँ सीमा स्तम्भ राखिने

हराएका सीमा स्तम्भ पुनः राख्ने सहमति, ३८० नयाँ सीमा स्तम्भ राखिने

धनगढी : कैलाली र कञ्चनपुरस्थित नेपाल–भारत सीमामा हराएका स्थानमा नयाँ सीमा स्तम्भ राख्ने काम सुरु हुने भएको छ । दुई देशको संयुक्त सीमा सर्भे टोलीले काम थाल्ने सहमति दुई देशका अधिकारीबीच भएको हो ।

सहमतिअनुसार टुटफुट भएका स्तम्भलाई मर्मत गर्ने काम पनि गरिनेछ । हराएका स्थानमा नयाँ सीमा स्तम्भ राख्ने र भएका सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्ने सहमति अधिकारीबीच भएको छ । 

भारतको पलियामा भएको दुई देशका स्थानीय अधिकारीको बैठकमा संयुक्त सर्भे टोलीलाई फिल्डमा खटाउने सहमति भएको बैठकमा नेपाली टोलीको नेतृत्व गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठ र सीमा क्षेत्र लखिमपुर खिरीका डिएम शैलेन्द्रकुमार सिंहबीच सर्भे टोली तत्काल फिल्डमा खटाउने सहमति भएको छ ।

दुवै देशको सहमतिअनुसार केन्द्रीय स्तरबाटै खटिएको उक्त टोलीलाई सीमांकन गर्ने, नयाँ सीमा स्तम्भ राख्ने, पुराना स्तम्भलाई मर्मत र रंगरोगन गर्ने कार्यादेश रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

गत वर्षदेखि सुरु भएको सर्भेको काम वर्षायाममा रोकिएको थियो । सीमाको काम पुनः सुरु गर्न लागिएको छ । कैलालीको केही ठाउँमा सीमास्तम्भ नभएर नेपालले भोगचलन गर्दै आएको जमिन नयाँ नापीमा भारततिर परेको थियो । स्थानीयले त्यसको विरोध गरेपछि टोलीले गत वर्ष नयाँ स्तम्भ राख्न सकेको थिएन । 

यस्तै, कालाकुण्डामा भारतले भोगचलन गरेको जमिन नयाँ नापीमा नेपालतर्फ परेको थियो । सीमा स्तम्भ नभएर भोगचलन गर्दै आएको जमिन फरक परेपछि स्थानीय स्तरबाट देखिने समस्या राजनीतिक दलको सहयोगमा समाधान गर्ने सहमति दुई देशका स्थानीय अधिकारीबीच भएको छ ।

संयुक्त टोलीले सीमा स्तम्भको सर्वेक्षण गत वर्ष नै गरिसकेको थियो । कैलाली र कञ्चनपुरमा ३ सय ८० स्तम्भ नभएको पाइएको थियो । नापी अधिकृत शाहीले खोलाले बगाउनुका साथै विभिन्न कारणले ३ सय ८० सीमा स्तम्भ नरहेको बताए ।