कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको असन्तुष्टि बढ्दै गएसँगै आन्दोलन पनि तीव्र बन्दै गएको छ ।
क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्ट र प्राध्यापक संगठनका केही कर्मचारीले भागबण्डाको आधारमा कर्मचारी भर्ना गरेको भन्दै गएको आइतबारबाट चार विद्यार्थी संगठनले सुरु गरेको आन्दालेनमा प्राध्यापकले पनि समर्थन जनाएका छन् ।
क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले मापदण्ड विपरीत कर्मचारी नियुक्त गरेको भन्दै प्राध्यापकहरुले आइतबार एक दिनका लागि पेन डाउन गरेका हुन् ।
कर्मचारी नियुक्ती खारेजीको विषयमा नागरिक समाज र विद्यार्थीले उठाएको मागलाई आफूहरुले पनि सर्मथन गर्दै एक दिनका लागि पेन डाउन गरेको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक यज्ञराज पाठकले बताउनुभयो ।
उहाँले क्याम्पस प्रमुखले सामान्य मापदण्ड पूरा नगरि कर्मचारी भर्ना गरेकाले यस्ता निर्णय बदर गर्नुपर्ने माग राख्नुभयो ।
क्याम्पस प्रमुखले कर्मचारी भर्ना गर्दा कति कर्मचारी आवश्यक छन् भन्ने जानकारी नगराएरै भर्ना भर्ना गरेको, कर्मचारी भर्ना गर्दा पनि विज्ञापन नखोलेको, लिखित तथा मौखिम परीक्षा नलिएको तथा भर्ना गरिएका कर्मचारीसमेत सम्बन्धीत विषयको नभएको प्राध्यापकहरुको आरोप छ ।
आफूहरुको मागको सम्बोधन नभए विकृति र विसंगतिका विरुद्ध अझ सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने प्राध्यापकहरुले चेतावनी समेत दिएका छन् ।
क्याम्पस प्रमुख डा. भुपेन्द्र विष्टले भने आफूले प्रक्रियागत रुपमा कर्मचारी भर्ना गरेको बताउनुभयो ।