जयपृथ्वी राजमार्गको मर्मत सुरु

जयपृथ्वी राजमार्गको मर्मत सुरु

बझाङ : विगत एक दशकदेखि अलपत्र अवस्थामा रहेको बझाङको जयपृथ्वी राजमार्गको मर्मतकार्य यतिखेर संचालन गरिएको छ।

राजमार्गको अधिकांश ठाउँमा पिच उप्किएर खाल्टा खुल्टी परेकाले सवारी साधनमा यात्रा गर्दा निकै कष्ठकर हुने भएपछि राजमार्गको मर्मत कार्य एकमहिना अघिदेखि संचालनमा ल्याएको हो। 

बझाङलाई अन्य जिल्ला संग जोड्ने एकमात्र जयपृथ्वी राजमार्गको यतिखेर बागथला चैनपुर सडक खण्डको विभिन्न भागमामर्मत कार्य भइरहेको जानकारी प्राप्त भएको छ।

जयपृथ्वी राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा एकदशक अघि कालोपत्रे गरिएको थियो। जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बागथला चैनपुर सडकखण्ड परै विग्रिएकाले डिभिजन सडक कार्यालयको आर्थिक सहयोगमा पुन: मर्मत कार्य संचालन भएको छ। 

सडकमर्मत कार्यका लागी कालिका सनराइज बसन्तजेभी कम्पनीले २०७४ साउनमा सम्झौता गरी ग्वाल्लेख निर्माण सेवा बैतडीलाई कामको जिम्मा दिएको जानकारी प्राप्त भएको छ। पहिलो पटक ६ करोड ५० लाखको लागतमा मर्मत्त गरिने सो सडकमा नालाहरु सफा गरिने,मेसीनरी वाल निर्माण गरिने, कल्भट र सल्यापपुल निर्माण गरिने र ५ किलोमिटर पिच गरिने ग्वाल्लेख निर्माण सेवा प्रतिनिधि अशोक मल्लले बताए।  बागथलादेखि चैनपुरसम्मको ४० किलोमिटर सडकको प्रायजसो सवै ठाउँको पिच उप्की सकेको छ।

ओटाशिल प्रविधिमा आधारित यस सडकको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो विग्रिएको स्थानीयको आरोप छ। आगामी साउन महिनासम्म पहिलो चरणको मर्मत्त कार्य सम्पन्न गरिने ग्वाल्लेख निर्माण सेवाले जानकारी दिएको छ। 

सडकमा खाल्टा परेर यात्रा गर्न नसकिने भइसकेको राजमार्गमा भेटिएका जिप चालक सन्तोष धामीले बताए। उनले भने, 'बाटो राम्रो नभएका कारण ठाउँ ठाँउमा गाडी विग्रने हुन्छ।' 

यो मार्गमा चल्ने नयाँ गाडीहरू पनि छिटो छिटो विग्रन्छन् खाल्डा खुल्टीका कारण गाडीको पट्टा भाँचिने, पानि पसेर हर्नले काम नगर्ने र इन्जिनले चाँडै काम गर्न छोड्ने गरेको समेत उनले जानकारी दिए। 

राजमार्गको बीच सडकमै खाल्टा परेकाले सवारीको गति अनियन्त्रित भई सावारी साधनहरू पल्टिने तथा एक आपसमा ठोकिने गरेको सवारी चालकहरू बताउँछन्। विगतमा चैनपुरदेखि बागथलासम्म एक घण्टामै पुगिन्थ्यो भने आजकाल सडक विग्रिएपछि २ घण्टा लाग्ने गर्दछ।