भीमदत्तमा दिशाजन्य फोहर व्यवस्थापन परियोजना सञ्चालनका लागि समभदारी पत्रमा हस्ताक्षर

भीमदत्तमा दिशाजन्य फोहर व्यवस्थापन परियोजना सञ्चालनका लागि समभदारी पत्रमा हस्ताक्षर

महेन्द्रनगर : भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एसोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाई सम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

भीमदत्त नगरपालिका कार्यालयमा आइतबार भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका नगर उप प्रमुख हरिप्रभा श्रेष्ठ खड्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओड, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा लगायतका सहभागी भएका छन् ।

वातावरण तथा जनसंख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका ५ नगरपालिकाकामध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिका सहित धुलीखेल, लमही र वालिङ्ग परियोजना सञ्चालनका लागि छनौट गरिएका छन् । यो परियोजना नेपाल बाहेक बंगलादेशमा सञ्चालनमा छ । 

समझदारी पत्रमा हस्ताक्षरपछि नेपाल नगरपालिका संघका सह कोषाध्यक्ष खड्कीले परियोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका छनौट भएकोमा धन्यवाद दिदैं परियोजना नमूना बनाउन सुझाव दिइन् ।

भीमदत्त नगरपालिकासित गरिएको समझदारी र विकास अरु स्थानीय तहका लागि समेत अनुकरणीय बन्ने उल्लेख गर्दै उनले सहकार्य र समन्वयका आधारमा अघि बढ्नु पर्नेमा जोड दिइन् ।

काठमाडौं महानगरपालिकामा जनसंख्याको चापका कारण व्यवस्थित गर्न नसकिएकाले भवन निर्माण गर्दा नक्सापास गर्दा नै घरभित्र सेफ्टी टयाङ्की राख्नु पर्ने विषयमा छलफल अघि बढेको उनको भनाई छ ।

धनगढी उप महानगरपालिकाका नगर प्रमुख ओडले स्थानीय सरकारले फोहरमैला व्यवस्थापनको सबैभन्दा ठूलो समस्या भएकाले परियोजनाले भीमदत्त नगरपालिकालाई दिशाजन्य फोहर व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

सुदूरपश्चिम सरकारको भीमदत्त र धनगढी उप महानगरपालिकालाई हेर्ने दृष्टिकोण समान भएकाले दुबै नगरपालिकाले सोच विचारका साथ कार्यक्रम बनाउनु पर्ने अवस्था रहेको बताए ।

भीमदत्त र धनगढीको विकास सुदूरपश्चिम प्रदेशका ८८ तहका लागि फलदायी हुने नगर प्रमुख ओडले बताए ।भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्षका रुपमा मनाउन लागेको नगर प्रमुख विष्टले बताए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक देवकोटाले समझदारीको औचित्यबारे उल्लेख गर्दै वातावरणीय जोखिम न्यूनीकरणका लागि परियोजना लागू गरिएको बताए  ।

संघका कार्यकारी निर्देशक देवकोटाले नेपाल र बंगलादेशका ५र५ नगरपालिकामा परियोजना सञ्चालन गरिएको बताए ।  नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि १० नगरपालिकाले प्रस्ताव पेश गरेका थिए ।