अनुगमनबाट संकलित सामग्री परीक्षणलाई प्रयोगशाला पठाइयो

अनुगमनबाट संकलित सामग्री परीक्षणलाई प्रयोगशाला पठाइयो

 बजार अनुगमनका क्रममा बैतडीमा संकलन गरिएका खाद्यका २७ नमुना परीक्षणका लागि धनगढी पठाइएको छ। बजार अनुगमनका क्रममा खान अयोग्य देखिएका खाद्यवस्तुका नमुना संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको हो।

खान अयोग्य देखिएका नमुनाहरुलाई परीक्षणका लागि धनगढी पठाइएको र नमुना प्रतिकूल आएमा खाद्य ऐनबमोजिम कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए। उनले भने, ‘असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७ ओटा नमुना संकलन गरिएका छन्, ती खाद्य वस्तुका नमुनाहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गरिने र गुणस्तरीय नपाइएमा कारवाही हुन्छ। ’

 यसअघि चारवटा नमुना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा लेखकले जानकारी दिए। असोजभन्दा पहिले संकलन गरिएका १५ नमुना मध्ये ४ तोकिएको मापदण्ड अनुसार नपाइएको उनले बताए। उनले भने‘ जसमध्ये २ जना व्यवसायी माथि जिल्ला प्रशासन कार्यालय बैतडीमा मुद्दा दायर गरिएको र अन्य २ अनुसन्धान को क्रममा छन्।’

आठ लाखको अखाद्य वस्तु नष्ट 

बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा करिब ८ लाख बराबरको म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको थियो।

संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा ७ लाख ७० हजार बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो। असोज पहिलो सातादेखि असोज अन्तिम साता सम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो।

उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्री समेत बिक्री वितरण भईरहेका लेखकले जानकारी दिए। उनले भने‘म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै। यसले गर्दा बजारमा म्याद नाघेका सामग्री विक्रि वितरण भईरहेका छन्।’

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्य सूची राख्न समेत आग्रह गरिएको छ। चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन्।