हतियार र विस्फोटक पदार्थसहित चन्द समूहका २ जना पक्राउ

हतियार र विस्फोटक पदार्थसहित चन्द समूहका २ जना पक्राउ

विराटनगर ।  प्रतिबन्धित चन्द समूहअन्तर्गत कम्पनी कमिस्नरसहित दुई जनालाई बुधबार साँझ मोरङको मिक्लाजुङबाट हतियार, विस्फोटक पदार्थ एवं दस्ताबेजसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा इलाम चुलाचुली गाउँपालिका–६ का कमरेड सनम भन्ने १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुंगा नगरपालिका–२ का प्रतिक भन्ने ३२ वर्षीय काशिनाथ घिमिरे रहेको प्रहरीले जनाएको छ ।
सुरुवाती अनुसन्धानमा घिमिरे चन्द समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिस्नर ९पूर्व सप्तरी जिल्ला सेक्रेटरी० र राई पाटीको साधारण सदस्य रहेको प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र समूहले स्थानीयबाट चन्दा असुली रहेको गोप्य सूचनाको आधारमा मोरङ प्रहरी प्रमुख उपरीक्षक ९एसपी० सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरीले उनीहरुको पछ्याएको थियो । उनीहरुलाई साँझ ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेस्थित एक खाली घरबाट पक्राउ गरिएको एसपी खड्काले बताए ।
प्रहरीका अनुसार उनीहरुबाट भरुवा बन्दुक र यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच, ३८।१० मिटर सेफ्टी फ्यूजको तार र ९० मिटर बिजुलीको डब्बल तार बरामद भएको छ ।

ती सामग्रीबाहेक १४ वटा सानोठूलो डायरी, ११ कापी, १९ वटा पुस्तक, १० मोबाइल, ९ सिमकार्ड, ७ चार्जर, ३२ जीबीको पेनड्राइभ, ९ स्लिपिङ ब्याग, १२ झोला, ६ छाता, ४ त्रिपाल, दापसहितको ३ खुकुरी, दापबिनाको १ खुकुरी, १ फलामको दाप, १ घण्टी र विभिन्न दरका १५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । -ईकान्तिपुरबाट