बेंगलोरलाई हराउँदै मुम्बई यसरी पुग्यो आईपीएलको प्ले अफ नजिक

बेंगलोरलाई हराउँदै मुम्बई यसरी पुग्यो आईपीएलको प्ले अफ नजिक

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत हिजो भएको खेलमा शीर्षस्थानको मुम्बई इन्डियन्सले दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्ध पाँच विकेटको सहज जित निकालेको छ।

१६५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा पाँच विकेट गुमाउँदै जित हासिल गरेको हो। मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७९ रन बनाए। त्यसबाहेक इशान किसानले २५ र क्विन्टन डि कोकले १८ रन बनाए।

बैङ्लोरका लागि मोहम्मद सिराज र युजभेन्द्र चाहलले दुई दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ रोजेको बैङ्लोरले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

उसका लागि देवदत्त पाडिकालले ७४ रन बनाएका थिए। कप्तान विराट कोहोली भने नौ रनमै बाहिरिए। मुम्बईका लागि जसप्रित बुमराहले तीन विकेट लिए।

१२ खेलको समाप्तीपछि मुम्बई १६ अंकसहित शीर्षस्थानमा छ। बैङ्लोर १४ अंकसहित दोस्रो स्थानमा छ। उति नै अंक भएको दिल्ली क्यापिटल्स रनरेटका आधारमा तेस्रो स्थानमा छ। बैङ्लोर र दिल्ली पछिल्ला दुई खेलमा लगातार पराजित भएका छन्।