बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु

बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु

बैतडी । बैतडीको रौलाकेदार धाम जोड्ने पर्यटकीय सडकमार्ग निर्माण शुरु भएको छ । जिल्लाको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग सुर्नया गाउँपालिका वडा नं ४ सनशेरीमाण्डौं देखि रौलाकेदार धामको सल्म्या सम्म सडक निर्माण कार्य शुरु भएको हो । 

बैतडीका प्रसिद्ध धार्मिक स्थल मध्ये केदारनाथ ज्योर्तिलिंगको रुपमा समेत रहेको रौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको रौलाकेदार धाममा पुग्न दर्शनार्थीहरुलाई सजिलो होस भनेर सडक निर्माण कार्य शुरु भएको उहाँले बताउनुभयो । अहिले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयले सो सडकका लागि २० लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आस्थाको केन्द्र रौलाकेदारमा सडक पुर्याउनका लागि सडक निर्माण कार्य शुरु भएको छ । यसले धार्मिक पर्यटकहरुलाई रौलाकेदारमा पुग्न सजिलो हुने विश्वास लिएका छौं ।’

भगवान शिवका १२ ज्योर्तिलिङ्ग मध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले यसअघि नै बताइसक्नु भएको छ । रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको र यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने उहाँले बताउनुभयो ।