स्याटेलाइट जीपीएस जडित 'जेबरोङ' मर्‍यो

स्याटेलाइट जीपीएस जडित 'जेबरोङ' मर्‍यो

काठमाडौँ  । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा घाँटीमा स्याटेलाइट जीपीएस कलर बाँधिएको 'जेबरोङ' नामको हिउँ चितुवा करिब ७ महिनाअघि नै मरे पनि सरकारले त्यो घटनालाई लुकाएको छ ।

जेबरोङको मृत शरीर भिजेर भन्ने स्थानको कु गाउँमा वैशाखमै भेटिए पनि वन तथा वातावरण मन्त्रालयले ७ महिनासम्म उक्त घटनालाई बाहिर ल्याउन चाहेको छैन ।

'२२ वैशाख (४ मे) पछि जेबरोङले कुनै सिग्नल नपठाएपछि खोज्दै जाँदा कु गाउँमा मृत शरीर नै भेटियो,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट समेत रहेका सूचना अधिकारी हरीभद्र आचार्यले कान्तिपुरसित भने, 'सामलिङ पनि जेठ १५ (मे २८) देखि सम्पर्कमा छैन ।'

७ महिनादेखि संकेत दिन छाडेकाले त्यो पनि मरेको आशंका गरिएको छ । 'कुनै खोंचमा परेर हो वा के भएको हो खोजी भइरहेको छ,' आचार्यले भने । गाउँ र गुम्बाको सम्झनामा दुवै हिउँ चितुवाको नामाकरण गरिएको थियो । प्राविधिकहरुका अनुसार स्याटेलाइट जीपीएस कलरले २ देखि ३ वर्षसम्म संकेत दिन्छ । जर्मनीमा बनेको उक्त स्याटेलाइट जीपीएसको मूल्य ६ देखि ७ हजार अमेरिकी डलर पर्छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्सालले 'घटना किन बाहिर ल्याइएन भनेर विभागसँग बुझ्ने' बताए ।

आचार्यका अनुसार मर्नुको कारण अहिलेसम्म पत्ता लागेको छैन । जेबरोङको घाँटीमा जडित कलरले १६९ दिन सूचना दिएको देखिन्छ भने १२० वर्ग किमि क्षेत्रलाई आफ्नो होम रेन्ज (बासस्थल) बनाएको थियो । निकुञ्ज र स्थानीयले जेबरोङको कुहिएका हाड र अन्य भाग संकलन गरेर निकुञ्जको मुख्यालय सुलिगाड ल्याएका छन् ।

गत वर्षको कात्तिक ३० मा निकुञ्ज विभागको पहल र शे–फोक्सुण्डो निकुञ्जको अगुवाइमा वन्यजन्तु प्राविधिकहरुले उक्त भाले हिउँ चितुवाको घाँटीमा स्याटेलाइट जीपीएस कलर बाँधेका थिए । त्यसका निम्ति डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्राविधिक सहयोग गरेको थियो । कलर जडान गर्न संस्था, स्थानीय र प्राविधिक गरी १८ जना २३ दिन भिजेर क्षेत्रमा खटिएका थिए ।

हिमाली क्षेत्र भिजेर, चारकार्बो क्षेत्रको ४ हजार १ सय ७१ मिटर उचाइमा घाँटीमा स्याटेलाइट कलर बाँधेर छाडिएको जेबरोङ आहार खोज्दै ६ हजार २ सय ९८ मिटर उचाइसम्म पुगेर चैतमा तल्लो क्षेत्रमा फर्किएको थियो । २२ वैशाखपछि भने उक्त हिउँ चितुवाको घाँटीमा जडित स्याटेलाइटले कुनै पनि संकेत नदिएको आचार्यले बताए ।

'जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधिका संकेत कम्प्युटरमा एसएमएसमार्फत प्राप्त हुनुपर्ने हो,' आचार्यले भने, '४ मे पछि दुवै हिउँ चितुवाले कुनै संकेत दिएका छैनन् ।'

जीपीएस कलर बाँध्ने बेलामा जेबरोङको तौल ३८ र उमेर ३ देखि ४ वर्षको थियो । गत वर्षको मंसिर २ मा सामलिङ गुम्बा नजिकैको ३ हजार ८ सय ८५ मिटर उचाइमा कलर बाँधेर अर्को भाले हिउँ चितुवालाई पनि स्याटेलाइट कलर जडान गरिएको थियो, त्यसलाई 'सामलिङ' नाम राखिएको थियो । -कान्तिपुर राष्ट्रिय दैनिकबाट