मिडिया क्षेत्रलाई राहत माग

मिडिया क्षेत्रलाई राहत माग

काठमाडौँ  । नेपाल पत्रकार महासंघले कोरोना महामारीले मिडिया क्षेत्रमा उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउन सरकारसँग माग गरेको छ ।

महासंघका पदाधिकारीले बिहीबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर कोरोना संक्रमणले सिर्जित समस्याले सञ्चारकर्मी र सञ्चारमाध्यममा पारेको प्रभावबारे अवगत गराएका छन् । महासंघले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आवश्यक सुविधा, सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

नेपाली मिडियालाई सेवा उद्योगको मान्यता दिन, क्लिन फिड नीतिलाई थप प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन, समानुपातिक विज्ञापन वितरण लागू गर्न तथा सञ्चारमाध्यमलाई आवश्यक परे सहुलियतपूर्ण ऋण व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।

महासंघ अध्यक्ष गोविन्द आचार्यले कोरोना संक्रमणको यस अवधिमा केही सञ्चार गृहमा पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बेतलबी बिदामा राख्ने, तलब कटौती गर्ने, पारिश्रमिक नियमित भुक्तानी नगर्नेजस्ता समस्या देखिएकाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सरकारले पहल लिनुपर्ने उल्लेख गरे । अर्थमन्त्री पौडेलले मसिनो गरी छलफल गरेपछि महासंघले उठाएका माग कार्यान्वयनमा लगिने बताए ।