राखेपले अलपत्र पारेको खेलमैदान नगरपालिकाले बनाउने

राखेपले अलपत्र पारेको खेलमैदान नगरपालिकाले बनाउने

बैतडी : तीन वर्षदेखि अलपत्र परेको बैतडीको सुन्दरखाली क्रिकेट मैदान निर्माणको काम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्माण सुरु गरेको खेल मैदान अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले खेलमैदान निर्माणको काम सुरु गरेको हो । 

राष्ट्रिय खेलकुद परिषदले ११ करोडको लागत अनुमानसहित सदमुकाम नजिकै  रहेको सुन्दखालीमा दशरथचन्द क्रिकेट स्टेडियमको निर्माण गर्ने भनिए पनि तीन वर्ष अघिदेखि निर्माण कार्य रोकिएको थियो ।

सुरुमा राखेपले दिवा÷चन्द्रा एण्ड वसन्ता जेभीसँग १ करोड ४० लाखमा मैदानको ६० घनमिटर कटान र वाल लगाउने हिसाबले ठेक्का सम्झौता गरेको थियो । 

राखेपले बजेट नदिँदा खेलमैदान निर्माण कार्य अलपत्र परेको थियो । खेल मैदान नहुँदा खेल गतिविधि रोकिएपछि नगरपालिकाले खेल मैदान निर्माण गर्न पहल थालेको हो ।

नगरप्रमुख नरेन्द्रसिंह थापाले भन्नुभयो ‘राखेपले सुविधा सम्पन्न स्टेडियम बनाउने भनेपनि निर्माण अलपत्र छोड्दा खेल गतिविधि रोकिएकाले हामीले खेलमैदान निर्माणको काम सुरु गरेका हौँ ।’

खेलमैदान निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेको उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । क्रिकेट खेल र नेपालमा यसको बढ्दो प्रभावलाई मनन गर्दै क्रिकेट खेल र नेपालमा खेलाडिको अभ्यासका लागि क्रिकेट मैदान आवश्यक रहेको उहाँले बताउनुभयो । 

यसैगरी क्रिकेट एसोसिएसन नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुहुन्छ ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याएका खेलाडीहरुले पनि नेपालमा पर्याप्त मात्रामा अभ्यास गर्न पाएका छैनन् ।

खेलमैदानको अभावले क्रिकेट प्रतियोगिताहरु सञ्चालन पनि हुन सकेका छैनन् । यस्तो अवस्थामा क्रिकेट मैदान बन्नु अहिलेको आवश्यकता हो ।’ याे समाचार उज्यालाे बाट लिएकाे हाे ।