नेपाली नागरिकता दिलाउन सिफारिस दिनेधनगढीका वडाध्यक्षमाथि नागरिकता ऐनअनुसार कैद गर्न सकिने

नेपाली नागरिकता दिलाउन सिफारिस दिनेधनगढीका वडाध्यक्षमाथि नागरिकता ऐनअनुसार कैद गर्न सकिने

धनगढी । धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्षमाथि अनुसन्धान सकिएको छ । कैलाली प्रहरीले वडाध्यक्ष सहितका पक्राउ परेका अन्य ३ जनामाथिको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा राय सहित मिसिल बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी सहितका ४ जनामाथि अनुसन्धान सकेर मिसिल सरकारी वकिलको कार्यालयको बुझाइएको जानकारी दिए ।

उनले वडा अध्यक्षमाथि झुठो विवरणका आधारमा नागरिकता दिलाउन सिफारिस गरेको अभियोगमा नागरिकता ऐन २०६३ बमोजिम कारवाही गर्न राय सहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाईएको बताए ।

नेपाली नागरिकता ऐन २०६३ मा बिदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

दण्ड सजाय सम्बन्धि ऐनको दफा २१ मा उक्त व्यवस्था छ । उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख छ । 

सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष समम कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

यस्तै वडाध्यक्षसँगै पक्राउ परेका झुठो विवरण बनाई नेपाली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, नक्कली बुवा बनेका धनगढी १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीका दाजु खुसिराम चौधरी र गीता चौधरीमाथि पनि अनुसन्धान सकेर सोही ऐन अनुसार कारवाही गर्न राय दिएको प्रहरीले जनाएको छ ।

नक्कली बुवा बनेका चौधरी भने फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको मिसिलमाथि अध्ययन भइरहेको जनाएको छ । प्रहरीको राय अनुसार अब सरकारी वकिल कार्यालयले उनीहरुमाथि कारवाहीको मागदावी सहित अदालतमा मुद्दा दर्ता गर्नेछ ।

२०७५ साल फागुन २० गते नक्कली बुवा बनेर भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिएको भन्दै प्रहरीले कात्तिक ११ गते वडाध्यक्ष जोशीलाई पक्राउ गरेको थियो ।

वडाध्यक्ष जोशी नेपाली काँग्रेसबाट विजयी हुन् । टीकापुरमा बस्दै आएका भारतीय नागरिक अन्सारी सहितका ३ जनालाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।