झडपमा ज्यान गुमाएका मुकेश चौरसियाको आठ दिनपछि अन्त्येष्टि

झडपमा ज्यान गुमाएका मुकेश चौरसियाको आठ दिनपछि अन्त्येष्टि

वीरगञ्ज– पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ।

चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित पर्साका नेता कार्यकर्ताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

कार्तिक ६ गते नेकपा बिन्दवासिनी गाउँपालिका समितिको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

उनी नेकपा गाउँपालिका समितिको सचिव चुनिएका थिए। उनको सुनियोजित तरिकाले हत्या गरिएको भन्दै उनका आफन्तले जाहेरी दिँदा पर्सा प्रहरीले जाहेरी दर्ता नगरेकोले परिवारसहित पार्टीले  एक हप्तासम्म आन्दोलन गर्दै आएको थियो।

एक हप्तापछि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएपछि चौरसियाका आफन्तले शव बुझेर अन्त्येष्टि गर्न सहमत भएका थिए।