कोरोना कहर : विद्यालय बन्द हुदाँ बालबालिकाहरु पढाई खर्च जुटाउन गिट्टी कुट्दै

कोरोना कहर : विद्यालय बन्द हुदाँ बालबालिकाहरु पढाई खर्च जुटाउन गिट्टी कुट्दै

अछाम । कोरोना महामारीको समयमा विद्यालय बन्द हुदाँ बालबालिकाहरु घरायसी काममा व्यस्त छन । करिब ७ महिना देखि बन्द अवस्थामा रहेका विद्यालयहरु अझै पनि नियमित रुपमा खुल्न सकेका छैनन् । जसका कारण स्कुले बालबालिकाहरु अभिभावकसँग मिलेर कठिन काम गरिरहेका छन ।

कोरोना भाइरसका कारण विद्यालय नखुल्दा अछामको साफेबगर नगरपालिका वडा नम्बर २ मा बस्दै आएकी करिष्मा बुढा आज भोली गिट्टी कुट्न व्यस्त छिन् । कक्षा सातमा पढ्दै आएकी करिब १४–१५ बर्षिय बुढाको दैनिकी पहिलेको भन्दा फेरिएको छ ।

कोरोना संक्रमण नदेखिएको समयमा उनी विद्यालयमा पढ्दै र साथीहरुसँग खेल्दै समय बेतित् गर्दै आएकी थिईन् । तर कोरोनाका कारण विद्यालय बन्द भएपछि करिष्मा आफैं पढाइ खर्च र घर खर्च जुटाउन गिट्टी कुट्न बाध्य भएकी हुन् । उनी रहरले नभई बाध्यताले खोलाको किनारमा आएर दैनिक बिहानदेखि बेलुकी सम्म गिट्टी कुट्छिन् ।

उनको उमेरका अधिकांश बालबालिका घरमा अभिभावकसँग लकडाउनको समयमा टिभी हेर्ने गर्छिन् । तर करिष्मा भने गाउँका अधबैँसे उमेरका महिलासँग गिट्टी कुट्दै जीवन जिउने आधार खोज्दैछिन् । करिष्मा आफ्नी बहिनीसँगै विहान नास्ता खाएर खोलाको किनारमा गिट्टी कुट्न बाध्य भएकी हुन ।

उनले भनिन्, “आजभोली कोरोनाका कारण स्कुल बन्द छ, त्यसैले बहिनी र म दैनिक यो खोलाको किनारमा गिट्टी कुट्दै दिनहरु बिताउछौँ ।” घरको आर्थिक अवस्था कमजोर भएका कारण आफुहरु विहानै खोलामा गिट्टी कुट्न आउनु परेको करिष्मा सुनाउँछिन । आमाबुवा पनि बेरोजगार छन, खानालाई पुग्दैन’,उनले भनिन्,‘अनि आमा, बहिनी र म खोलाको किनारमा गिट्टी कुट्न आउने गरेका हौ ।”

नगरपालिकाले एक ट्राली गिट्टीको तिन हजार देखि पाँच हजार सम्म तोकेको छ । आफु एक महिनाको करिब १० देखि १२ हजार सम्मको गिट्टी बेच्ने गरेको उनी बताउँछिन । करिष्मा मात्रै नभएर जिल्लाका धेरै जसो बालबालिकाहरु आजभोली पढाई खर्च र घर खर्च चलाउन कठिन काम गर्न व्यस्त देखिन्छन ।

गरीबी र विपन्नताका कारण जिल्लाका धेरैजसो बालबालिकाले आफ्नो पढाइ र घरखर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन् । शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको उनीहरुको गुनासो छ ।