गिट्टी कुट्ने ८५ बर्षिया बृद्धको दुखेसो : ‘सरकार सबै बस्तुको मुल्य बढाउँछ तर गिट्टीको बढाउदैंन’

गिट्टी कुट्ने ८५ बर्षिया बृद्धको दुखेसो : ‘सरकार सबै बस्तुको मुल्य बढाउँछ तर गिट्टीको बढाउदैंन’

अछाम । अछामको छिपे खोलामा करिब ८५ बर्षिया बृद्ध करि ठकुल्ला १२ बर्ष देखि गिट्टी कुट्दै दैनिक गुजारा चलाई रहेका छन । जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर २ मा बस्दै आएका ठकुल्ला १२ बर्ष देखि गिट्टी कुट्दै घर खर्च चलाउदै आएका हुन ।

युवा अवस्थामा लामो समय सम्म भारतमा काम गरेका उनी आजभोली छिपेखोलाको किनारमा गिट्टी कुटेर दिन बिताउदैं आएका छन । बुढेसकालमा आराम गर्नु पर्ने समयमा ठकुल्ला विहान देखि साँझ सम्म खोला किनार मै गिट्टी कुट्दै गरेको अवस्थामा भेटिन्छन् । घरमा आफु जेठी बुहारी र नाती सँग बस्दै आएको उनी बताउँछन ।

“आफ्ना ४ छोरा थिए’,उनले भने,‘तर जेठो छोराको दुर्घटनामा पररे ज्यान गयो ।” अहिले ३ वटा छोरा छन् । सबै आ–आफ्नो परिवार पालेर बसेका छन, उनले भने । आफु रहरले नभएर बाध्यताले चर्को घाममा पनि दिनभरी गिट्टी कुट्दै घर खर्च चलाउने गरेको उनले दुखेसो गरे ।

घरमा बुहारी र नाती आफु सँग बस्दै आएको र आर्थिक अवस्था निकै कमजोर भएका कारण विहान देखि बेलुका सम्म गिट्टी कुटेर दैनिक गुजारा चलाई रहेको छु, ठकुल्लाले भने । लकडाउनको समयमा बजारमा पाउने सबै बस्तुहरुको मुल्य बढेपनि गिट्टीको भाउ नबढेको उनको भनाई छ ।

सरकारले सबै बस्तुहरुको मुल्य बढाउदै आएपनि गिट्टीको भाउ भने नबढाएको उनको गनासो छ । महिनामा आफु दुई देखि तीन ट्राली सम्म गिट्टी बच्ने गरेको उनी बताउँछन । यसरी गिट्टीको भाउ नबढे भने आफुहरुलाई अब दैनिक छाकटार्न समेत धौँ–धौँ हुने अवस्था आएको गिट्टी कुट्नेहरु बताउँछन ।

नगरपालिकाले एक ट्राली गिट्टीको प्रकार हेरेर तीन हजार देखि पाँच हजार सम्म तोकेको छ । नगरपालिकाको यो दरले आफुहरुले गिट्टी बेच्दाँ मेहनतको फल समेत नपाईने गरेको उनीहरु बताउँछन ।