निर्मला हत्याकाण्ड : उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्ति झुटो सावित, आईजिपीले के भने ?

निर्मला हत्याकाण्ड :  उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्ति झुटो सावित, आईजिपीले के भने ?

काठमाडौँ  :  गएको मंसिर तेस्रोसाता नेपाली डिजिटल पत्रिकाहरुमा प्रहरीको उच्च श्रोतलाई उद्धृत गर्दै निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र उनीहरुले अपराध स्वीकार पनि गरिसकेको भन्दै प्रकाशित भएका समाचारहरु सामाजिक सञ्जालमा भाइरल बने ।

प्रहरीको उच्च श्रोतलाई उद्धृत गरेर प्रकाशन भएको उक्त समाचारमा दुईजना युवकले अपराध स्वीकार गरिसकेको उल्लेख थियो । मध्यरातमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि ति युवकहरुसँग बयान लिएको भोलिपल्ट यो समाचार बाहिर आएको थियो ।

निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी र सरकारको चर्को आलोचना भइरहेका बेला सार्वजनिक भएको यो समाचारमा सत्यता रहेको कुरामा बल पुगाएका थिए, सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निर्मलाका हत्यारा पक्राउ परिसकेको दाबी मात्रै गरेनन् विधिसम्मत ढंगले सार्वजनिक गर्ने जानकारी पनि गराए ।

उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने खतरा रहेकोले त्यसो नगर्न सम्बन्धित सबैलाई चेतावनी पनि दिए ।

सरकारका उपप्रधानमन्त्रीले नै निर्मलाका हत्यारा पक्राउ परिसकेको र विधिसम्बत ढंगले सार्वजनिक गर्ने अभिव्यक्ति दिएपछि नागरिकहरुले नपत्याउने कुरै भएन । तर हत्यारा पक्राउ परिसकेको प्रहरी उच्च श्रोतको दाबी र उपप्रधानमन्त्री पोखरेलको अभिव्यक्ति अहिले झुटो सावित भएको छ ।

यो घटनाले एकातिर प्रहरीको अनुसन्धान पद्धती र सरकारसँगको समन्वय कति कमजोर रहेछ भन्ने कुरा प्रष्ट गरेको छ भने अर्कोतिर नागरिकहरुमा थप निराशा र आक्रोश बढाएको छ ।

पर्याप्त प्रमाण संकलन नै नगरी यातना दिएका भरमा स्वीकार गरिएको बयानलाई आधार मानेर हौसिदै सूचना चुहाउने प्रहरी र सोही सूचनाका आधारमा अभिव्यक्ति दिने उपप्रधनमन्त्री पोखरेलका कारण सरकार पनि विवादमा तानिएका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कमजोरी स्वीकार गरेका छन् ।

निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले सोमबार पत्रकार सम्मेलन गरेर प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गर्दै कमजोरी गर्ने जो कोहीलाई नछाड्ने प्रतिवद्धता जनाए ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग र ‘इमान्दार प्रयास’ गरिरहेको महानिरीक्षक खनालले दाबी गरेपनि प्रहरीले नक्कली अभियुक्त तयार पार्न खोजेको भन्दै आलोचना रोकिएको छैन । प्रहरीले अनुसन्धानकै क्रममा दिलीप सिंह बिष्ट, विशाल चौधरी र प्रदीप रावललाई यातना दिएर दोष कबुल गर्न लगाएको आरोप छ ।

उनीहरुको डिएनए परीक्षण गर्दा नमिलेपछि दिलिपसिंह बिस्ट र विशाल चौधरी रिहा भइसकेका छन् भने प्रदीप रावल अझै हिरासतमा छन् । यता निर्मला पन्त प्रकरणमा पक्राउ परेका विशाल चौधरीको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार विशालका बुवा वीरबहादुर चौधरीले कञ्चनपुर प्रहरीले यातना दिएको भन्दै आयोगको धनगढी स्थित कार्यालयमा उजुरी दिएका हुन् । आयोगका प्रमुख झंकर रावलले प्राप्त उजुरीबारे छानबिन सुरु गरिने बताए ।याे समाचार देश सञ्चारबाट  लिइएकाे हाे ।