चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँद कृषि व्यवसाय गर्ने युवाका लागि प्रेरणाका स्रोत !

चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँद कृषि व्यवसाय गर्ने युवाका लागि प्रेरणाका स्रोत !

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद कृषि पेशा गर्न चाहाने युवाका लागि प्रेरणाका स्रोत बनेका छन । लामो समय देखि कृषि पेशामा रमाएका अध्यक्ष साउँदले चौरपाटी गाउँपालिका वडा नम्बर १ को थुवामा अहिले पनि व्यवसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका हुन ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचिन नहुनु अगाडी पनि उनले भृमुणमा व्यवसाय गर्दै आएका थिए । उनले भृमुणमा बाख्रा पालन देखि लिएर केरा खेती सम्मको व्यवसाय गरेका थिए । अहिले पनि उक्त क्षेत्रमा उनले व्यवसाय जारी राखेका छन । लामो समय सम्म भृमुणमा व्यवसाय गर्दै आएका अध्यक्ष साउँदले चौरपाटी कै थुवामा पनि केरा खेती देखि लिएर अन्य व्यवसाय विस्तार गरेका छन ।

अध्यक्ष साउँदका अनुसार करिब ३० देखि ३५ लाख सम्मको लगानीमा व्यवसाय सुरु गरिएको हो । उनले गाउँपालिकालाई कृषिमा आत्मनिर्भ बनाउने लक्ष्य अनुसार आफुले पनि कृषि पेशालाई निरन्तरता दिएको जानकारी दिए । उनले आफुले लगायका फलफुलहरु कति हेक्टर क्षेत्रफलमा लगाएको छु भन्ने यकिन थाहाँ नभएको बताए ।

ठुलो क्षेत्र फलमा केरा खेती गरेका अध्यक्षले अनारका विरुवा लगायत अन्य फलफुलका बोटहरु समेत रोपेका छन । बोट विरुवाहरुमा कुनै रोग नलागे अबको केही बर्ष मै बोटहरु हुर्किएर फल दिन थालेपछि आफुले मनग्य आम्दानी गर्ने उनी बताउँछन । उनले केरा खेती मात्रै नगरेर ५ जना सम्मलाई रोजगारी दिएर कुखुरा पालन, माछा पालन, बंगुर पालन समेत गरेका छन ।

उनी विदाको समय वा कार्यालय बन्द भएपछि कृषि काममै समय विताउँदै आएका छन । मेहनत गरे आफ्नै गाउँघरमा मनग्य आम्दानी गर्न सकिने उदाहरण गाउँपालिकाका अध्यक्ष साउँदले दिएका छन । मेहनत र परिश्रम गरे गाउँपालिकाबासी युवा तथा दाजुभाईहरुले भारत लगायत तेस्रो मुलुक जानु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।

तर कतिपय युवाहरु भने आफ्नो देशमा काम नभएको भन्दै भारत तिर जाने गरेका छन । व्यवसायिक रुपमा गाउँपालिका भित्र कृषि पेशा गर्ने युवाहरुलाई आफुले सक्दो सहयोग गर्ने अध्यक्ष साउँद बताउँछन । यस्तै चौरपाटी गाउँपालिकाले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँन थुप्र किसिमका कार्यक्रम ल्याएको छ ।