कालोबजारी गर्ने कंचनपुरका पाँच व्यावसायिलाई कार्बाही

कालोबजारी गर्ने कंचनपुरका पाँच व्यावसायिलाई कार्बाही

कार्तिक १९,कंचनपुर ।
कालोबजारी गर्ने कंचनपुरका पाँच व्यावसायिलाई कार्बाही गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमन टोलीले तरकारीदेखि किराना र मेडिकल सञ्चालकहरुलाई ५/५ हजार जरिवाना गरेको हो।

एग्रोभेट, मेडिकल, तरकारी पसल र किराना पसल गरि पाँच जना व्यवसायीहरुलाई जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ। जरिवानामा परेको  बेदकोट नगरपालिकामा रहेको एग्रोभटमा ३/४ वर्षदेखि म्याद नाघेका सामानहरु राखिएका थिए। गड्डाचौकी स्थित एउटा मेडिकल ६ वर्षदेखि सञ्चालन भएपनि औषधी व्यवस्था विभागमा दर्ता  गरिएको थिएन।
अनुगमनकै क्रममा महेन्द्रनगरका किराना पसलमा म्याद नाघेका खाद्य वस्तु सँगै पेट्रोल र डिजेल लगायत बिक्रिका लागि बोतलमा राखिएको अवस्थामा भेटिएको समेत जिला प्रशासन कार्यालयले जनाएको छ।यसै गरि  तरकारी पसलमा प्याज लुकाएर महंगोमा बिक्रि भइरहेको समेत भेटिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकिय अधिकृत कल्पना भट्टले बताइन्।

‘पहिलो पटक सबैलाई ५/५ हजार जरिवाना गरेर छाडेका छौं, फेरी यस्तो पाइए कारवाहीमै जान्छौं,’ प्रशासकिय अधिकृत भट्टले भनिन्, ‘अहिले भीमदत्त र बेदकोटमा मात्रै अनुगमन भएको छ, अब जिल्लाका अन्य स्थानीय तहमा पनि अनुगमन गरिनेछ।’ उनले अहिले पनि कतैबाट सुचना आएमा त्यहि आधारमा पनि अनुगमन भइरहेको बताइन्।
जिल्ला प्रशासनमा कर्मचारी अभावका कारण नियमित अनुगमन हुन नसकेको र यसका बाबजुद पनि चाडपर्वहरुलाई लक्षित गरि भइरहने कालोबजारी न्युनिकरणका लागि कार्यालयबाट अनुगमन गरिरहेको अधिकृत भट्टले बताएकी छिन।