नरवणे भ्रमणः आज राष्ट्रपतिले मानार्थ महारथी प्रदान गर्ने

नरवणे भ्रमणः आज राष्ट्रपतिले मानार्थ महारथी प्रदान गर्ने

काठमाडौं– नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाईआज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने कार्यक्रम छ ।

नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप जनरल नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनु भएको हो ।

प्रधानसेनापति जनरल पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनु भएका नरवणे नेपाली सेनाको मानार्थ महारथी पाउने भारतका १७ औं सेनाध्यक्ष हुनुहुन्छ ।

धर्मपत्नी र उच्च सैनिक अधिकारी सहित नेपाल आउनु भएका भारतीय स्थलसेनाध्यक्षले हिजै साँझ पशुपतिनाथको दर्शन गर्नु भयो । यसैगरी उहाँले वसन्तपुर ऐतिहासिक क्षेत्रको पनि अवलोकन भ्रमण गर्नु भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग स्थलसेनाध्यक्षले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । नेपाल र भारतबीचको विद्यमान सम्बन्ध अझ प्रगाढ बनाउन सेनाध्यक्षको यस भ्रमणलाई सैनिक कुटनीतिका रुपमा समेत हेरिएको छ ।