राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुरुप बैतडीका विभिन्न विद्यालयहरुमा कक्षा ११ को परीक्षा शुरु

राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुरुप बैतडीका विभिन्न विद्यालयहरुमा कक्षा ११ को परीक्षा शुरु

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकुलतामा परीक्षा सञ्चालन गर्न भनेपछि बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा आन्तरिक मूल्यांकनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयहरुले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।  

कोरोना भाईरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिनुभयो । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको उहाँले बताउनुभयो ।

बैतडीमा ५९ विद्यालयका विद्यार्थीहरु परीक्षा दिने तयारीमा छन् । केही विद्यालयमा परीक्षा शुरु भईसकेको जानकारी आएको छ भने केही विद्यालयहरु परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले मंसीर १२ गतेभित्र सबै विद्यालयहरुलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ । बैतडीमा ३ हजार ६५५ जना कक्षा ११ का परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।