भारतसँगको सीमा विवाद वार्ताका माध्यमबाटै समाधान हुने

भारतसँगको सीमा विवाद वार्ताका माध्यमबाटै समाधान हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवाद वार्ताका माध्यमबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत असल मित्र भएको र ऊसँग भएका कतिपय समस्या संवादबाटै हल हुने धारणा राखेका हुन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट भएको जानकारी दिए।

नरवणे नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्न नेपालको तीनदिने भ्रमणमा आएका थिए। त्यही क्रममा उनले शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन्। नरवणे तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरेको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।  

 भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसप्रति विरोध जनाएको थियो। त्यसपछि नेपालले पनि आफ्ना भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ। सीमा विवाद भएदेखि नेपाल र भारतबीचको सम्बन्धमा हार्दिकता छैन।

भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष नरवणेको भ्रमणपछि अब नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुने विश्लेषकले बताएका छन्। -अन्नपुर्ण पोष्टमा खबर छ ।