टुसा उम्रिएको अन्न: पोषण र स्वास्थ्यका लागि कति फाइदाजनक ?

टुसा उम्रिएको अन्न: पोषण  र  स्वास्थ्यका लागि कति  फाइदाजनक ?

माइक्रोग्रेन्स अर्थात् टुसा उम्रिएको अन्न पछिल्लो समय पोषणका लागि निकै लोकप्रिय छ । गेडागेडी र अन्नलाई भिजाएर टुसा उम्रेपछि प्रयोगमा ल्याउँदा सामान्य अन्नको भन्दा दोब्बर मात्रामा पोषण पाइने हुँदा लोकप्रिय बन्दै गएको हो ।

पछिल्लो समय जमराको जुस, टुसा उम्रेको केराउ, चना आदि भान्साको परिकारमा समेत सामेल हुन थालेको छ । सामान्य अन्नभन्दा टुसा उम्रेको अन्न पचाउन सजिलो हुने, अंकुरण भएपछि फाइबरको मात्रा दोब्बर बढ्ने, भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने हुँदा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

विभिन्न किसिमका माइक्रोग्रेन्स अर्थात् टुसा उम्रेका गेडागुडीले भिन्न मात्रामा भिटामिन, खनिज र क्यारोटिनोड पाइन्छ । साथै, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, भिटामिन ए, सी, के र विभिन्न किसिमका पोलिफिनहरूका साथै प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

टुसा उम्रेको अन्न स्वास्थ्यका लागि फाइदाजनक भए पनि अत्यधिक रूपमा सेवन गर्दा स्वास्थ्यमा हानि पनि गर्ने हुँदा ख्याल गर्नुपर्ने हुन्छ । 

मुटु स्वास्थ्य
टुसा पलाएका खानेकुराहरू पोलिफेनल एन्टिअक्सिडेन्टका राम्रा स्रोतहरू हुन् । अध्ययनका अनुसार एन्टिअक्सिडेन्ट मुटुका लागि फाइदाजनक हुन्छन् । टुसा उम्रेका खानेकुरामा एलडिएल अर्थात् खराब कोलेस्ट्रोल हटाउन र अन्य मुटुलाई असर पार्ने तत्वहरूको मात्रा कम गर्ने क्षमता हुन्छ । मुटु स्वस्थ राख्न माइक्रोग्रेन्सहरू महत्वपूर्ण मानिन्छन् । 

तौल व्यवस्थापन गर्न
शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न टुसा उम्रेका अन्न निकै प्रभावकारी हुन्छन् । तौल घटाउन र व्यवस्थित गर्नसमेत माइक्रोग्रेन्सहरू प्रयोगमा ल्याइन्छ । यी खानेकुरामा भिटामिन, आइरन र अन्य पोषक तत्वहरू प्रशस्त मात्रामा पाइने हुँदा थोरै सेवनले पनि स्वस्थ रहन मद्दत गर्छ । जसले खानाको दर पनि घटाउने हुँदा तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । 

अल्जाइमरको जोखिम कम गर्न
टुसा पलाएका गेडागुडी तथा अन्नहरूमा सामान्य खानेकुराभन्दा बढी मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जुन अधिकांश रोगबाट बच्न आवश्यक मानिन्छ । यसमा उपलब्ध हुने पोलिफेनल एन्टिअक्सिडेन्टले अल्जाइमरजस्ता रोगको जोखिमलाई कम गर्छ । शरीरमा विभिन्न कारणले हुने न्युरोडिजेनेरेटिभ डिसअर्डर अर्थात् स्नायुमा हुने क्षति कम गर्छ । 

डायबेटिज व्यवस्थापन गर्न
अन्तर्राष्ट्रिय जर्नल फुडसाइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनअनुसार मेथीको माइक्रोग्रेन्समा एन्टिडायबेटिज गुण पाइन्छ । मेथीको टुसा सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ । जसले टाइप २ मधुमेहको जोखिम कम गर्छ । मधुमेहको समस्या भएका व्यक्तिले नियमित मात्रा मिलाएर मेथीको टुसा सेवन गर्न सक्छन् ।  

क्यान्सरको जोखिम कम गर्न
अध्ययनअनुसार ब्रोकाउली, काउली, रायो र मुलामा एन्टिप्रोलिफेलेटिभ तत्व पाइन्छ । सन्तुलित रूपमा माइक्रोग्रेन्सको सेवनले पेटमा हुने क्यान्सरको जोखिम घटाउँछ । पोषणविद्को सल्लाहमा नियमित मात्रा मिलाएर टुसा पलाएका खानेकुरा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।