कोरोना बिर्साउने मालपोत कार्यालय कैलालीको भिड, संक्रमणको जोखिम उच्च (फोटो फिचर)

कोरोना बिर्साउने मालपोत कार्यालय कैलालीको भिड, संक्रमणको जोखिम उच्च (फोटो फिचर)

धनगढी । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् ।

सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानीका कारण संक्रमणदर फैलिने खतरा बनेको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भने पनि कैलाली मालपोतमा त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रदेशको मुख्य शहर धनगढीमा कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको भएपनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । मालपोत कार्यालय कैलालीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, न त स्यानिटाइजरकै व्यवस्था गरेको छ ।

सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामका लागि सेवाग्राही आउने गरेका छन् ।