रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामी जेल चलान

रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामी जेल चलान

मुम्बइ। एक इन्टिरियर डिजाइनरलाई आत्महत्याको लागि उक्साएको आरोप लागेका रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई महाराष्ट्रको रायगढस्थित तलोजा जेल पठाइएको छ । उनलाई आइतबार अलीबागको एक कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट जेल चलान गरिएको बीबीसीले जनाएको छ । यसअघि अदालतले न्यायिक हिरासतमा पठाएपछि उनलाई क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।

समाचार एजेन्सी पीटीआइले एक पुलिस अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार अर्नबलाई न्यायिक हिरासतमा राखिएका बेला उनले कथित रुपमा फोनको प्रयोग गरेका थिए त्यसपछि उनलाई तलोजा जेल सारिएको हो । रायगढको क्राइम ब्रान्चले अर्नब गोस्वामी कुनै अर्को फोनबाट सामाजिक संजालमा सक्रिय रहेको पाएको थियो । उनको आफ्नो फोन भने ४ नोभेम्बरमा हिरासतमा लिएपछि पुलिसले जफत गरेको थियो ।

अर्नबले तलोजा जेल जैजाँदै गर्दा पुलिसको गाडिभित्रैबाट चिच्याएर अलीबागका जेलरले आफूलाई शनिबार साँझ कुटपिट गरेको बताएका थिए । उनले चिच्याएरै आफ्नो ज्यान खतरामा रहेको र आफ्नो वकिलसँग कुरा गर्न नदिइएको पनि बताएका थिए । अर्नब र अन्य २ जना फिरोज शेख र नीतिश सारदालाई पुलिसले ४ नोभेम्बरमा पक्राउ गरेको थियो । उनीहरुमाथि २०१८ मा इन्टिरियर डिजाइनर तन्वय नाइक र उनकी आमालाई आत्महत्याको लागि उक्साएको आरोप छ ।