पब्जीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल विजयी, जित्यो ७१ लाख पुरस्कार

पब्जीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल विजयी,  जित्यो ७१ लाख पुरस्कार

काठमाडौं । नेपाली पब्जी टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि जितेको छ । पब्जी टिम ‘एबररप्ट स्लेयर’ले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ जित्न सफल भएको हाे ।

त्यस्तै प्रतियोगिताको दोस्रो स्थान पनि नेपाली टिमले नै जितेको छ । टिम ‘द रियल सोल्डर’ फस्ट रनरअप हुँदै २० हजार डलर अर्थात् नेपाली २३ लाख ७० हजार रुपैयाँ जित्न सफल भएको छ ।

यी दुवै नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप स्लटका लागि छनोट भएका छन्। यो च्याम्पियनशिपको विजेताले २३ करोड ७० लाख रूपैयाँ हात पार्ने छ । जहाँ प्रतिस्पर्धा गर्न विश्वभरका पब्जी टिम सामेल हुनेछन् ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियाको शीर्ष १६ मा दक्षिण एसियाका नेपाल, पाकिस्तान र बंगलादेशका पब्जी टिम छानिएका थिए । यसअन्तर्गत नेपालका १०, पाकिस्तान र बंगलादेशका ३/३ टिमले प्रतिस्पर्धा गरेका थिए । -टेचपाना