जिन्दगीको चक्रमा कति आउँछन्
अनि कति निस्किन्छन् !
हिसाब किताब हुँदैन।
केही मीठा र केही तिता यादहरु भरिन्छन् ।
कोही केवल आउँछन्/जान्छन्
कुनै प्रवाह हुँदैन अनि अर्थ पनि
कोही आइरहन्छन्, गईरहन्छन्
नियमित जसो चलिरहन्छ यस्तो
तर
कसैले सोच्न बाध्य बनाउँछन
आएर अमिट छाप छोड्छ,
अनि आफैंलाई प्रश्न गर्ने गर्छु,
किन आयो? किन जाँदैछ?
उ जुन गतिमा आउँछ, अझ तिब्र
गतिमा निस्किनु पर्ने हतार हुन्छ।
यति हतार थियो भने आउनु किन?
अनौठो क्रियाकलाप देखिन्छन्।
हरेक भावहरू अनौठो लाग्छ
यादहरु सम्झिरहन मन लाग्छ।
भुल्छु भन्नु त झन् सम्झिरहने
बहाना मात्रै हो जस्तो लाग्छ।
प्रेम र यौनको कुरा मात्रै हैन,
यस्तो सधैं जसो भइरहन्छ ।
जस्तो कि अचेल हुँदै छ ।
यस्तो म संग धेरै भएको छ।
तपाईंसँग पनि भएको होला।
सुनिरहु लाग्ने शब्दहरू अनि
भुल्नै नसकिने सवाल/जवाफ
जति टाडियो, त्यति नजिकिने
जति भुल्यो, त्यति याद आउने
अनौठो छ है! मस्तिष्क पनि
मनले भनेको फिटिक्कै सुन्दैन
लाग्छ मन र मस्तिष्क सायद
सत्ता पक्ष र प्रतिपक्ष हुन
तर म सधैं दोधारमा पर्ने गर्छु
कुन सत्ता पक्ष, कुन प्रतिपक्ष?
एकै शरीरका अङ्गमा विभाजन?
अचेल फेरि द्वन्द हुन थालेको छ।
मन र मस्तिष्कको लड़ाई हुँदै छ।
एकातिर
मनले भनिरहेको छ - खोजी गर।
झुक्न सिक्नु पर्छ - झुक्न जान्नु पर्छ।
'रिस' को उल्टो 'सरी' पनि हुन्छ,
कहिलेकाहीं सरीले माथि पुर्याउँछ।
सरीले आदर्श स्थापित गराउँछ।
अर्कातिर
मस्तिष्क यो आदर्श मान्न तयार छैन
यसलाई भावनासंग लेनदेन पनि छैन
प्रश्न गर्छ, रिस र झुकाई मेरो मात्रै किन?
भूमिका समान छ, सरी पनि दुवैको हुनुपर्छ
यस्तै यस्तै द्वन्द म संग भइरहेको छ।
देशमा पनि यस्तै द्वन्द चलिरहेको छ।
सरि भनेर आदर्श कसले देखाउँला ?
यो हेर्न अनि देखिन पनि बाँकी छ।
लेखक साझा युवा संगठन सुदूरपश्चिम संयोजक रोहित चन्द हुन ।