कञ्चनपुरमा कुटपिट गर्ने सैनिक जवानविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी, संलग्न ३ पक्राउ

कञ्चनपुरमा कुटपिट गर्ने सैनिक जवानविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी, संलग्न ३ पक्राउ

कञ्चनपुरः भीमदत्त नगरपालिका-११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।

प्रहरी कार्यालयमा जाहेरी दर्तापछि उनको खोजी शुरू गरिएको छ। भुजेलामा सैनिक जवान सार्कीका बुवासहित कुटपिटमा संलग्न पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइएको हो। 

प्रहरी कार्यालयमा जाहेरी परेपछि देवी सार्कीसहित राजु सार्की र मदनराज सार्की पक्राउ परेका छन्‌। सैनिक जवान सार्की र रेखा सार्की फरार रहेका छन्‌। 

कुटपिटबाट गम्भीर घाइते काशी सार्कीको परिवारले जाहेरी दिएको हो। उनको टाउकामा गम्भीर चोट  लागेको छ। सैनिक जवान सार्कीले पञ्जाले उनको टाउकोमा हिर्काएको पीडित परिवारले प्रहरीलाई जानकारी दिएका छन्‌। 

टाउकोमा गम्भीर चोट लागेको सार्कीको अहिले कोहलपुरमा उपचार भइरहेको छ। धनगढीमा उपचार सम्भव नभएपछि उनलाई कोहलपुर लगिएको थियो। 

देवी सार्की नेतृत्वको समूहले कुटपिट गर्दा काशीसहित ९ जना घाइते भएका छन्‌। त्यसमध्ये काशी र उनकी श्रीमतीलाई बढी चोट लागेको छ। 

घाइते काशी सार्कीले खेतबाट बाटो प्रयोग गर्न नदिने बताएपछि देवी सार्की लगायतको समूहले उनीहरूमाथि कुटपिट गरेको थियो। केही दिनअघि देवी सहितको समूहले टर्सरी भएर बाटो बनाउन नदिएपछि उनीहरूले पनि खेतको बाटो प्रयोग नगर्न चेतावनी दिएका थिए। त्यसलाई बेवास्ता गरी देवी सार्कीले प्रयोग गरेपछि विवाद बढेको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जाहेरीमा नाम उल्लेख गरिएका पाँचमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जानकारी दिए।