भारत पस्ने सुदूरपश्चिमेलीहरुका पिडा : ‘तिहार अर्को साल मनाउँला यो बर्ष घर परिवारलाई बचाउँछौं’

भारत पस्ने सुदूरपश्चिमेलीहरुका पिडा : ‘तिहार अर्को साल मनाउँला यो बर्ष घर परिवारलाई बचाउँछौं’

धनगढी । कोरोना महामारीको लहर चलिरहेका बेला सुदूरपश्चिमबाट दैनिक सयौंको संख्यामा नेपालीहरु भारत प्रवेश गर्न थालेका छन । विश्वमा कोरोना भाइरस फैलिएपछि भारतमा लकडाउन भएका बेला नेपाल फर्किएका नेपालीहरु फेरि घरमा बेरोजगार भएको भन्दै भारत फर्कन बाध्य भएका हुन ।

भारतमा लकडाउनको बेला भोकभोकै बस्न बाध्य भएका सुदूरपश्चिमेलीहरु ठुलो दुःख कष्ट झेल्दै नेपाल फर्किएका थिए । नेपालमा बसेर रोग भन्दा भोकले मर्ने अवस्था आउन थालेपछि फेरि भारत जानु परेको सुदूरपश्चिमेलीहरु बताउँछन ।

नेपाल फर्कने बेला बाटोमा खाना समेत नखाएर घर फर्किएका उनीहरु फेरि नेपालमा भोकभोकै बस्नु पर्ने बाध्यता आएको भन्दै भारत जान बाध्य भएका हुन । तिहार आउन केही दिन बाकीँ हुदाँ सुदूरपश्चिमबाट भारत प्रवेश गर्ने नाकामा दिनप्रति दिन नागरिकहरुको ठुलो भिड लाग्ने गरेको छ ।

विगतका बर्षहरुमा तिहारको समयमा घर फर्कने सुदूरपश्चिमेलीहरु यो बर्ष भने तिहार आउन केहीँ दिन बाकीँ रहँदा निरास भएर भारत जादैँछन । घरको स्थिती नाजुक भएपछि तिहारको मुखमै भारत जानु पर्ने बाध्यता आएको उनीहरु बताउँछन । 

घरमा बालबच्चा छन, उनीहरुको पेट पाल्नको लागि भएपनि फेरि भारत जानु बाहेक अन्य विकल्प नभएको डोटीको शिखर नगरपालिकाका प्रकाश बादीले बताए । ‘एक्लो ज्यान त जसरी भएपनि पाल्न सकिन्थ्यो’,उनले भने,‘तर घरमा छोरा–छोरी र श्रीमती छन उनीहरुका लागि भएपनि आफ्नो ज्यानको बाजी थापेर भएपनि पैसा कमाउनु प¥यो ।’ बुधबार साझँको समयमा गौरीफण्टा नाकामा पुग्दा भारत जान लाईनमा निरास भएर बसेका बादी रुदैँ आफ्नो परिवारलाई फोन गरिरहेका थिए । 

केही समय पछि हामीले उनलाई किन यसरी रोएको भनेर सोध्दा उनले तिहारको मुखमै घर परिवारलाई छोडेर जानु पर्दा आखाँबाट आशु आएको जवाफ दिए । आफु तिहार मुखमै आउँदा पनि रहरले नभएर बाध्यताले भारत जानु परेको बताए । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारले गरिबहरुलाई नहेरेको उनीहरुको गुनासो छ ।

‘नेपाल सरकारले गरिबका लागि केहीँ गर्ला वा रोजगारी देला भन्ने नसोचे पनि भयो,’उनले भने,‘सरकार त अहिले आफ्ना मान्छे र आफ्नो मात्रै पेट भर्ने काममा लागेको छ ।’ भारतमा लकडाउनको समयमा समस्या हुदाँ अब आफ्नै देशमा केही गर्नु पर्छ भन्ने उद्धेश्यले आएका बादी कसैको पनि सहयोग नपाउँदा पुनः भारत फर्कन बाध्य भएका हुन । 

भारतबाट कमाएर ल्याएको पैसा आधा बाटो मै सकिएको र आधा घरमा बस्दा सकिएपछि फेरि भारत जानु परेको लाईनमा बसेका अर्का युवा कमल वि.क बताउँछन । तिहारमा दिदीबहिनीको माया मारेर भएपनि बाध्यताले देश छोड्नु परेको छ,’उनले भने,‘तिहारमा दिदी बहिनीलाई दिनको लागि कोसेली समेत घरमा छैन ।’ भारतमा बस्दाँ कमाएको पैंसा घर फर्किदाँ बाटोमा लुटिएको उनको भनाई छ ।

पैंसा भएपछि तिहार अर्को साल मनाउनु पर्ला यो बर्ष घर परिवारको दैनिक गुजारा चलाउनको लागि केही पैंसा कमाउन भारत जादैछौं, उनले भने । भारतबाट फर्किएपछि लगभग १४ दिन क्वारेन्टाईनमा दुःख गरेर बस्नु परेको उनले दुखेसो सुनाए ।

त्यो समयमा फेरि भारत नआउने कसम खाएर आएको तर देशमा रोजगारीको कुनै अवसर नपाउँदा फरि अर्काको देशमा भाडा माझ्न जानु परेको उनी बताउँछन । 

हाम्रो देशका तीन वटै सरकारले अहिले सम्म गरिब र निमुखा जनतालाई नहेरेको वि.कको भनाई छ । दैनिक हजारौंको संख्यामा सुदूरपश्चिमबाट नागरिकहरु भारत जादैं गरेका छन तर हाम्रो प्रदेश सरकार कानमा तेल र आँखामा पट्टी बाधेर बसेको उनले आरोप लगाए ।

सुदूरपश्चिम प्रदशका ९ वटै जिल्लाका नागरिकहरु गाउँघरमा हिउँदे खेती लगाएर रोजगारी गर्न भनेर कोरोना महामारीकै अवस्थामा भारत लगायतका देशमा जान थालेका हुन । 

लकडाउन अगाडी भारतबाट कमाएको पैंसा सकिन थालेपछि नागरिकहरु धमाधम भारत पस्न बाध्य भएका छन । नेताहरुले युवाहरुलाई चुनावको बेला मात्रै प्रयोग गर्ने गरेको र चुनाव जितेर गएपछि भुल्ने गरेको युवाहरु बताउँछन ।

सुदूरपश्चिमका स्थानीय सरकार र प्रदेश सरकारले युवाका लागि रोजगारीका कुनै पनि अवसर नल्याएका कारण युवाहरु आफ्नो देश छोड्न बाध्य भएका हुन ।