बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं। काठमाडौंको कलंकीमा बिहीबार बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोकिराखेको ट्रकमा मिनिट्रक ठोक्किँदा नुवाकोटका तीन जनाको मृत्यु भएको हो। 

कलंकी चोकबाट कुखुरा बोकेर स्वयम्भू जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनिट्रक मकालु पेट्रोल पम्प नजिकै रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा ठोक्किएको हो। दुर्घटनामा कुखुरा बोकेको मिनिट्रकमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा नुवाकोटको सुन्दरदेवी गाउँपालिकाका २४ वर्षीय रोशन तामाङ, तार्केश्वर गाउँपालिका- ५ का ३७ वर्षीय माधवप्रसाद घिमिरे र सोही ठाउँका २७ वर्षीय भूपेन्द्र तामाङको मृत्यु भएको हो। 

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।