यो बर्षको तिहारमा देउसी भैलो खेल्न रोक

यो बर्षको तिहारमा देउसी भैलो खेल्न रोक

धनगढी । यो बर्षको तिहारमा देउसी भैलो खेल्न रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा देउसी भैली खेल्न रोक लगाईएको हो ।

कैलाली,कञ्चनपुर सहित पहाडी जिल्लाहरुमा तिहारमा देउसी भैलो खेल्न तथा भिडभाड गर्न नपाइने भएको हो । चाडपर्वको समयमा हुने बढी आवातजावातले संक्रमण फैलिने सक्ने भन्दै स्थानीय प्रशासनहरुले भिडभाड विना नै चाडपर्व मनाउन आग्रह गरेको छ । तिहारमा आयोजना हुने देउसी–भैली लगायतका कार्यक्रममा समेत प्रदेशका स्थानीय प्रशासन कार्यालयहरुले गर्नमा रोक लगाएका हुन् । 

गौरा, छठ, दशैं लगायत पर्वमा जसरी सुरक्षा सतर्कताका साथ मनाइएको थियो, त्यसरी नै सुरक्षाका मापदण्ड साथ तिहार मनाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताउनुभयो । तिहारमा पनि प्रमुख जिल्ला अधिकारीको आदेशलाई निरन्तरता दिइने बताउँदै सूचना अधिकारी जोशी देउसी भैलीको कार्यक्रम गर्न रोक लगाएको जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय डोटीले पनि देउसी भैलो खेल्नमा रोक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनुभयो । राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले भनाई छ।

कञ्चनपुर जिल्लामा पनि दशैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिइने भएको छ । दिदीभाईको पर्वका रुपमा मनाइने तिहारमा देउसी–भैलो खेल्ने, साथी भाईबीच जमघट हुने, मेलाको आयोजना गर्ने लगायतका क्रियाकलापहरु नगर्न कञ्चनपुर प्रशासनले अनुरोध गरेको छ ।

त्यस्तै पटाका पट्काउने कार्यमा पनि बन्देज लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बितेका पर्वमा जस्तै तिहारमा पनि सो आदेशलाई निरन्तरता दिने जानकारी दिनुभयो।