कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार विद्यार्थी घरपायक केन्द्रबाट सहभागी हुने

कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार विद्यार्थी घरपायक केन्द्रबाट सहभागी हुने

रोकिएको ९ महिनापछि हुन लागेको कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार ४ सय ९ परीक्षार्थीले घरपायक जिल्लाको परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् । विद्यार्थीले रोजेको परीक्षा केन्द्रबाटै परीक्षा लिने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थीमध्ये १२ हजार ४ सय ९ जनाले आफूले रोजेको जिल्लाबाट परीक्षा दिन लागेका हुन् ।

कोरोना संक्रमणका कारण बोर्डले अर्को जिल्लामा अध्ययन गर्ने परीक्षार्थीलाई पनि हाल आफू बसोबास गरेको जिल्लाबाट परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । यो व्यवस्था काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक अन्यमा मात्रै लागू गरिएको छ । मंसिर ९ गतेबाट मुलुकभर सञ्चालन हुने परीक्षाको तयारी सुरु गरिएको सदस्य सचिव अर्यालले बताए । सातवटै प्रदेश कार्यालय र ५ शाखा कार्यालयबाट केन्द्राध्यक्ष र निरीक्षकको अभिमुखीकरण थालिएको बोर्डले जनाएको छ । 

४ हजार १ सय ५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालयबाट ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा दिन पाउनेछन् । आफू पढेको जिल्लाबाहेक अन्य जिल्लाको विद्यालयबाट पनि परीक्षा दिन पाउने सुविधा दिइएको छ । त्यसका लागि बोर्डले परीक्षा केन्द्र रोज्न आवेदन माग गरेको थियो । विद्यार्थीले प्रवेशपत्र भने आफैंले अध्ययन गरेको विद्यालयबाट लिनुपर्छ । संक्षिप्त परीक्षाका लागि बोर्डले नमुना प्रश्नपत्रहरूसमेत सार्वजनिक गरेको छ । कुल पूर्णाङ्कलाई १०० प्रतिशत मानेर ४० पूर्णाङ्कमा बोर्डले लिखित परीक्षा सञ्चालन गर्न लागेको हो । बिहान ८ बजेदेखि डेढ घण्टा मात्रै परीक्षा सञ्चालन हुनेछ । आफू पढेकै विद्यालयमा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिकासमेत त्यहीं परीक्षण हुनेछ । अन्य विद्यालयबाट आएर परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिका भने परीक्षण नगरी बोर्डमा पठाउनुपर्नेछ ।

४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार एउटा कक्षाकोठामा बढीमा २० जना मात्रै परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्नेछ । मास्कको प्रयोग अनिवार्य गरिएको छ । रुघाखोकीलगायत कोरोनाको संक्रमणको शंका गरिएका विद्यार्थीलाई छुट्टै कक्षाकोठाको व्यवस्था गर्नुपर्ने पौडेलले बताए । कोरोना संक्रमण भएका परीक्षार्थीलाई मुक्त भएपछि छुट्टै परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

वैशाख पहिलो साता सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन हुन लागेको हो । कान्तिपुर दैनिकमा ​सुदीप कैनीले खबर लेखेका छन् ।