कोरोना संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यु आदेश जारी

कोरोना संक्रमण बढेपछि रात्रिकालीन कर्फ्यु आदेश जारी

न्युयोर्क– कोरोना संक्रमण लगातार बढेपछि अमेरिकाको न्युयोर्कमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ।  शुक्रबारदेखि न्युयोर्कमा राति १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो। आदेशअनुसार राति १० बजे अगाडि नै रेष्टुरेण्ट, बार र जिमहरु बन्द गरिसक्नुपर्ने छ। 

शुक्रबारदेखि न्युयोर्कमा हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला समेत हुन पाइनेछैन। गभर्नर एन्ड्रयु कुमोले १० जनाभन्दा बढी भेला हुन नपाउने र १० बजेपछि बार र रेष्टुरेण्टहरु खोल्न नपाउने नियम स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन्। 

जमघट हुन नपाउने नियम निजी घरहरुभित्र समेत लागू हुनेछ। मदिरा बिक्रीको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भए पनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् । तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्नेछ।

न्युयोर्कमा पछिल्ला दिनहरुमा संक्रमण दर चिन्ताजनक रुपमा बढ्दै गएको छ । कोरोना महामारीको दोश्रो लहर रोक्ने अन्तिम प्रयास स्वरुप मापदण्डहरुको पालना गर्न न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले सबैलाई अनुरोध गरेका छन्।