के तपाईलाई थाहा छ, आखिर किन लगाइन्छ ‘सप्तरङ्गी’ टिका ?

के तपाईलाई थाहा छ, आखिर किन लगाइन्छ ‘सप्तरङ्गी’ टिका ?

काठमाडौं । आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् ।

नेपालीहरुको महान् चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् ।

त्यसैले यो दिन खास छ । दाजुभाई नभएका दिदीबहिनीले एकअर्कासँग टिका लगाउँछन् । भने दिदीबहिनी नभएका दाजुभाईले भावनात्मक साईनो जोडिएका दिदीबहिनीसँग टिका लगाउँछन् । वा विभिन्न मन्दीरमा पुगी एकअर्कासँग टिका लगाउँछन् ।

भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।

सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टीका लगाउन भन्छ । त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।

यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दै भाइटिका लगाइदिएकी थिइन् ।उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि,तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटीका लगाइदिइन् । यसरी भाइटीका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटीकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गयो ।

सातैवटा रङ्गका टिका किन ? हामीले संस्कृतिविद् डा. देवमणी भट्टराईलाई प्रश्न ग-यौं ।

उनले उत्तर दिए ‘यी सातैवटा रङ्गले तिहारसँग सम्बन्धित अरु तत्त्वलाई प्रतिबिम्बित गर्छन् ।’

‘जस्तै ?’

‘जे जसलाई हामी तिहारमा पूजा गर्छौं, जस्तै, पहिलो दिन काग, त्यसपछि कुकुर, अनि क्रमश गाई, लक्ष्मी, गोवर्द्धन पर्वत र यमराज ।’

टिकाकै प्रसङ्गमा उनले दक्षिणा तथा उपहारको विषयलाई पनि जोडे । ‘आजकल टिकालाई भन्दा पनि दक्षिणा र उपहारलाई प्राथमिकता दिने चलन छ । खासमा, माइतीले चेलीलाई आफ्नो हैसियत अनुसारको दक्षिणा वा उपहार दिने र चेलीले मीठामीठा परिकार बनाएर ख्वाउने मात्र हो । चेलीले अनावश्यक उपहार दिनुपर्दैन ।’ उनले भने ।

त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्त्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ।

दाजुभाइलाई टीका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ । ‘यही हो हाम्रो संस्कृतिको विशेषता, यहाँ हरेक पक्षले छुट्टै बिम्बात्मक अभिव्यक्ति दिन्छन् ।’ डा. देवमणी भट्टराईले लोकपथसँग भने ।