जगायो कोरोना विरुद्ध जितको आशा, प्रारम्भिक तथ्याङ्कअनुसार मोडर्नाको खोप ९५ प्रतिशत प्रभावकारी

जगायो कोरोना विरुद्ध जितको आशा, प्रारम्भिक तथ्याङ्कअनुसार मोडर्नाको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको बताएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले आफ्नो खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने बताएलगत्तै आएको यो पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास बढेको छ । यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताइएको छ ।

खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । साथै अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।

यद्यपि यो अझै पनि प्रारम्भिक डाटा हो र मुख्य प्रश्न अनुत्तरित छ । यसैबीच माेडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिन्छ ।