बंगलादेशविरुद्ध छिरिङको डेब्यु, भरत बने कप्तान

बंगलादेशविरुद्ध छिरिङको डेब्यु, भरत बने कप्तान

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी भरत खवासले गरेका छन्  । प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् । पहिलो खेलमा गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गरेका थिए ।

यस्तै दोस्रो मैत्रीपूर्ण खेलमार्फत डिफेन्डर छिरिङ गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका छिरिङले दोस्रो खेलमा अवसर पाएका हुन् । गोलकिपिङमा किरण चेम्जोङ यथावत रहँदा डिफेन्डरमा सुमन अर्याल र अजित भण्डारीको स्थानमा रन्जित धिमाल र छिरिङ गुरुङले स्थान बनाएका हुन् ।

यस्तै मिडफिल्डर विक्रम लामाको स्थानमा एरिक बिष्टले सुरुवातदेखि नै खेल्ने छन् । दर्शन गुरुङले समेत सुरुवाती-११ मै स्थान बनाएका छन् । एरिक र दर्शन पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । पहिलो खेलमा खेलेको नेपाली टिममा आज ५ खेलाडी परिवर्तन गरिएको छ ।