स्वास्थ्य मापदण्ड अपनाएर छठ मनाउन प्रधानमन्‍त्रीको आह्वान

स्वास्थ्य मापदण्ड अपनाएर छठ मनाउन प्रधानमन्‍त्रीको आह्वान

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर छठ पर्व मनाउन आह्वान गरेका छन् । छठको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् । 

‘छठ पर्वको उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौं’, प्रधानमन्त्रीले भनेका छन्, ‘यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यस वर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु ।’ 

ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्या;एको भन्दै सचेत हुन आग्रह गरेका हुन् । 

सरकारले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको उनको भनाइ छ । ओलीले महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको दाबीसमेत गरेका छन् । 

छठ मधेस र पहाडका नेपाली समुदायको सेतु भएको भन्दै ओलीले यसले समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउने विश्वास व्यक्त गरेका छन् । 

‘बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ‘चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।’ 

ओलीले उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको शुभकामना दिएका हुन् । उनले तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको उल्लेख गरेका छन् । 

‘हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ’, उनले भने, ‘मानव समाज कृषियुगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ ।’

प्रधानमन्त्री ओलीले छठ पर्वमा व्रत बस्ने, जलाशयमा स्नान गरी बेलुकीपख प्रसादको रूपमा खीर खाने र खुवाउने चलन भएको उल्लेख गरेका छन् । 

‘परम्परा अनुसार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ’, ओलीले शुभकामना सन्देशमा छठ वर्षको विधिबारे भनेका छन् ।