नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न निवेदन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न  निवेदन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन परेको छ ।

उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले संस्थाको विधान र सर्वमान्य सिद्धान्तविपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिँदै दिइएको निवेदनका अनुसार चैतमा चुनाव नभएपछि महासंघको वर्तमान कार्यसमिति अवैधानिक हो ।

‘गत चैत २८, २९ गते हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोरोनाका कारण धकेलिँदै धकेलिँदै मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ । अवैधानिक रूपमा हुन लागेको निर्वाचन रोकेर वैधानिक तवरले स्वच्छ निर्वाचन होस् भनी यो निवेदन गरेको छु,’ निवेदनमा भनिएको छ ।

साथै, महासंघको विधानको दफा ४१ को उपदफा १ को ग मा प्रदेशको चुनाव गरेरमात्रै केन्द्रीय नेतृत्व चयनका लागि चुनाव गर्ने व्यवस्था भएकोमा हाल विधानविपरीत प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन नै नगरी केन्द्रीय निर्वाचन गर्ने भनिएको हुँदा उक्त काम कारबाही विधानतः अवैध भएको साहले दाबी गरेका छन् ।

त्यसैगरी, एसोसिएटतर्फका मतदाता नामावलीमा दर्ता खारेज भइसकेका र अस्तित्वमा नै नरहेका सदस्यहरूको नामावलीको झुटो विवरण रहेको पनि उनले दाबी गरेको छन् । उनले मर्जरमा गइसकेका बैंक तथा वित्तीय संस्थाहरूको नाम किटेरै उक्त संस्थासहितको नामावली झुटो रहेको दाबी गरेका छन् ।

त्यस्तै, एसोसिएटतर्फका सदस्य संस्थाहरूको कम्पनी, निर्देशक र प्रमुख कार्यकारी अधिकृतले मात्र मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ । तर हाल ती सदस्य मतदाताहरूको फर्जी मतदाताकारूपमा प्रोक्सी मतदान गर्ने व्यवस्था गर्दै निर्वाचन गर्न खोजिएको छ, त्यो सरासर गलत छ, त्यसैले पनि यो निर्वाचन रोक्नै पर्ने अवस्था छ,’ निवेदनमा भनिएको छ ।